डडेल्धुरामा नैनसिंह महरको उम्मेदवारीः कांग्रेसको भरोसा, युवाको परीक्षा

Image
लामिकाडे गाउँमा मतदाताहरु संग उम्मेदवार महरलगायत अन्य कांग्रेसका नेताहरु

डडेल्धुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा डडेल्धुराको राजनीति फेरि केन्द्रमा आएको छ । यसपटक कारण बनेका छन्, नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नैनसिंह महर । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका महरको उम्मेदवारीलाई केवल एक चुनावी प्रतिस्पर्धाका रूपमा होइन, नेतृत्व पुस्तान्तरण, पार्टी रणनीति र स्थानीय अपेक्षाको संगमका रूपमा हेरिँदैछ ।

जन्मथलोबाट सुरु भएको राजनीतिक सन्देश

महरले उम्मेदवारी घोषणापछि आफ्नै जन्मथलो भागेश्वर गाउँपालिका–३ बोगटाको लामिकाडेबाट घरदैलो अभियान सुरु गरे । यो कदम भावनात्मक मात्र होइन, स्पष्ट राजनीतिक सन्देश बोकेको छ । “म यहाँबाट भागेर आएको होइन, यहीँबाट जिम्मेवारी लिन आएको हुँ ।”

शनिबार बिहान भागेश्वर गाउँपालिका ४ डुङरीमा रहेको कांग्रेसका स्वं. नेता एन.डी. प्रकाश चटौतको शालिक अगाडीबाट उम्मेदवार महरले लेखेका छन, जसले डडेलधुरामा कांग्रेसको जग बसाल्नुभयो, जसले हामीलाई लोकतन्त्रको पाठ सिकाउनुभयो। तिनै अभिभावक एन.डी.प्रकाश चटौतज्यूको शालिक अगाडि उभिँदा जिम्मेवारी बोध भएको छ। उहाँको अधुरो सपना पूरा गर्ने संकल्पका साथ…जय नेपाल !

डडेल्धुरा जस्तो राजनीतिक रूपमा सचेत जिल्लामा जन्मथलोको प्रतीकात्मक प्रयोगले मतदातासँग सीधा सम्बन्ध जोड्ने काम गर्छ । यसले उनलाई ‘थोपारिएको उम्मेदवार’ होइन, यही समाजले उत्पादन गरेको नेताको रूपमा उभ्याउने प्रयास देखिन्छ ।

विद्यार्थी नेताबाट संसद्को आकांक्षा

नेपाल विद्यार्थी संघको नेतृत्व गरि पार्टी केन्द्रिृय सदस्य हुदै शिक्षा विभाग प्रमुखबाट सीधै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नु महरको राजनीतिक यात्राको सबैभन्दा ठूलो छलाङ हो । यसले दुई धारणा जन्माएको छ ।

समर्थकहरू भन्छन्ः नयाँ पुस्तालाई अवसर दिनु समयको माग हो । आलोचकहरू भन्छन्ः अनुभव र परिपक्वताको परीक्षा अझै बाँकी छ । तर नेपाली राजनीतिमा विद्यार्थी आन्दोलनबाटै राष्ट्रिय नेतृत्वमा पुगेका उदाहरण नयाँ होइनन् । प्रश्न केवल यत्ति हो । के महरले विद्यार्थी राजनीतिमा सिकेको संघर्ष र संगठन क्षमतालाई संसद्‌को नीतिनिर्माणसम्म पुर्‍याउन सक्छन् ?

डडेल्धुराः कांग्रेसको आधार, उम्मेदवारको दबाब

डडेल्धुरा नेपाली कांग्रेसको परम्परागत बलियो क्षेत्र मानिन्छ । यही कारण यहाँको चुनाव परिणामले राष्ट्रिय सन्देश दिने गर्दछ । महरको उम्मेदवारीले कांग्रेसभित्र पनि संकेत दिएको छ । पार्टी अब क्रमशः युवा नेतृत्वलाई अगाडि सार्ने रणनीतिमा जान खोज्दैछ ।

तर यही आधार क्षेत्र भएकाले चुनौती पनि कम छैन । डडेल्धुराका मतदाता अब केवल पार्टीको इतिहासमा मत हाल्ने अवस्थामा छैनन् । उनीहरू उपस्थिति, पहुँच र परिणाम खोजिरहेका छन् ।

मुद्दाः युवाको स्वर कि पुरानै एजेन्डा ?

घरदैलो अभियानका क्रममा उठेका विषयहरू रोजगारी, शिक्षा, स्वास्थ्य, सडक र युवा पलायन डडेल्धुराका पुराना घाउ हुन् । यहाँ महरको असली परीक्षा सुरु हुन्छ ।

के उनले यी विषयलाई केवल चुनावी नाराबाट माथि उठाएर संसद्‌मा उठ्ने एजेन्डा बनाउन सक्छन् ? के युवा उम्मेदवारको छविलाई नीतिगत स्पष्टतासँग जोड्न सक्छन् ?

यदि उनी भावनात्मक अपिलमै सीमित भए भने यो अवसर खेर जान सक्छ । तर यदि स्पष्ट कार्ययोजना र निरन्तर संवाद देखाउन सके भने, महर डडेल्धुराबाट उदाएको नयाँ राजनीतिक अनुहारका रूपमा स्थापित हुन सक्छन् ।

कांग्रेसका लागि पनि लिटमस टेस्ट

यो निर्वाचन नैनसिंह महरका लागि मात्र होइन, नेपाली कांग्रेसका लागि पनि लिटमस टेस्ट हो । फागुन २१ को परिणामले देखाउनेछ । कांग्रेस साँच्चै पुस्तान्तरण गर्न तयार छ कि छैन, युवा नेतृत्वलाई केवल चुनावी प्रयोगका रूपमा लिन्छ कि दीर्घकालीन रणनीतिका रूपमा । डडेल्धुराको नतिजाले अन्य जिल्लामा पनि युवा उम्मेदवारप्रतिको धारणा प्रभावित पार्ने निश्चित छ ।

निष्कर्षः अवसर ऐतिहासिक, जोखिम यथार्थ

नैनसिंह महरको उम्मेदवारी अवसरका हिसाबले ऐतिहासिक छ । तर अपेक्षाका हिसाबले चुनौतीपूर्ण । जन्मथलोबाट सुरु भएको अभियान, विद्यार्थी राजनीतिबाट आएको संगठन अनुभव र कांग्रेसको टिकट, यी सबै उनको बलियो आधार हुन् । अब निर्णय मतदाताको हातमा छ । डडेल्धुरा यसपटक व्यक्ति मात्र होइन, भविष्यको राजनीतिक दिशा रोज्दैछ ।