एमाले डडेलधुरा जिल्ला सदस्य ऐरसहित ३० जना कांग्रेसमा प्रवेश

Image

डडेलधुरा । नेकपा एमाले डडेलधुरा जिल्ला कमिटी सदस्य बिक्रम ऐरसहित ३० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

अजयमेरु गाउँपालिकास्थित चमडा पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच एमाले डडेलधुरा जिल्ला कमिटी सदस्य ऐर नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ३० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूले पार्टी परित्याग गर्दै आफूहरूले कांग्रेस उम्मेदवार नैनसिंह महरलाई सघाउने प्रतिवद्धता जनाएका छन् । पार्टी प्रवेश गर्दै ऐरले मुलुकको निकास र जनताको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन् ।

‘राजनीतिक दल नारामा मात्र सीमित हुने होइन भन्ने मेरो लामो राजनीतिक अनुभवले सिकाएको छ । व्यवहारमा जनताको काम गर्ने पार्टी रोज्नुपर्छ। आजको दिनमा कांग्रेस नै त्यस्तो एकमात्र शक्ति हो, जो भरोसायोग्य छ र सधैं जनतासँग नजिक रहेर उनीहरूका सुख–दुःखमा मलम लगाउँछ ।’

उनले एमालेमा राजनीतिक इमान्दारिता हराउँदै गएको र कार्यकर्ताको भविष्य नभएको गुनासो गरे । ‘महर जस्तो योजना भएको र केन्द्रमा समेत प्रभाव राख्न सक्ने नेतृत्वलाई जिताउनु नै डडेलधुराको हितमा हुनेछ । त्यसैले हामी ३० जना साथीहरू बिना सर्त कांग्रेसको लोकतान्त्रिक अभियानमा समाहित भएका हौं,’ उनले भने ।

यस्तै कांग्रेस उम्मेदवार महरले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै चमडाबाट सुरु भएको लहरले फागुन २१ को नतिजा कांग्रेसको पक्षमा आउने सुनिश्चित गरेको बताए ।

‘विपक्षी दलका जिम्मेवार नेता बिक्रमलगायतले देखाउनुभएको यो विश्वासले मलाई थप ऊर्जा मिलेको छ। अजयमेरुवासीले दिएको यो साथले पुष्टि गर्छ कि अब डडेलधुराले विकास र समृद्धिको एजेण्डा बोकेको कांग्रेसलाई नै रोजिसकेको छ,’ उनले भने ।

यस्तै कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउद, पूर्वपार्टी सभापति रघुवर भट्ट र सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री गोबिन्द बोहोरालगायत शीर्ष नेताहरूले अबिर र खादा लगाएर नवप्रवेसीहरूलाई स्वागत गरेका थिए ।

उनीहरूले पार्टीमा जोडिएका नयाँ नेताहरूको क्षमता, योग्यता र क्रियाशीलताका आधारमा न्यायोचित अवसर तथा जिम्मेवारी सुम्पिने प्रतिवद्धता व्यक्त गरेका छन् ।