दलहरू एउटै मञ्चमाः प्रचारप्रसारमा बालबालिका प्रयोग नगर्ने ८ बुँदे सहमति
डडेल्धुरा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा डडेल्धुरामा चुनावलाई स्वच्छ, निष्पक्ष र बालअधिकारमैत्री बनाउने साझा पहल देखिएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराको आयोजना तथा लू निभाः बालसरोकार समूहको सहकार्यमा आयोजित कार्यक्रममा राजनीतिक दल र सरोकारवालाहरूले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने आठ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै हस्ताक्षर गरेका छन ।
प्रतिबद्धतापत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका प्रतिनिधि, स्वतन्त्र उम्मेदवाहरुन तथा अन्य सरोकारवालाहरूले हस्ताक्षर गरेका हुन ।
प्रतिबद्धताअनुसार बालबालिकालाई जुलुस, र्याली, प्रचारप्रसारमा संलग्न नगराउने, पर्चा–पोस्टर टाँस्ने, बोक्ने, पाल टाँग्ने, खाना बनाउने, बिजुलीसम्बन्धी काम, भाँडा माझ्ने, पानी ल्याउने–खुवाउनेजस्ता काममा श्रमिकका रूपमा प्रयोग नगर्ने, राजनीतिक आस्थाका आधारमा द्वन्द्व, हुलहुज्जत वा झगडा गराउन बालबालिकालाई प्रयोग नगर्ने, निर्वाचनसँग सम्बन्धित गतिविधिमा हतियार ओसारपसार वा बोकाउने काम नगर्ने, मतदाता आउने बाटो अवरुद्ध गर्न, अलमल्याउन वा बहिष्कारका नाममा परिचालन नगर्ने, विद्यालयका विद्यार्थीहरूको समिति र समूह गठन गरी प्रचार वा बहिष्कारमा प्रयोग नगर्ने, चन्दा संकलन, जासुसी, सुराकी वा सूचना वाहकका रूपमा प्रयोग नगर्ने बुदा उल्लेख गरिएका छन ।
कार्यक्रममा उठेका मुख्य सन्देश
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अम्बरबहादुर वलीले निर्वाचन आचारसंहिताका प्रमुख प्रावधानहरू प्रस्तुत गर्दै जनप्रतिनिधिको सहभागिता, सरकारी सवारीसाधनको दुरुपयोग तथा बालबालिकाको प्रयोग आचारसंहिता विपरीत भएको विषय स्मरण गराए ।
लू निभाः बालसरोकार समूहका जिल्ला कार्यक्रम संयोजक धर्मसिंह ऐरले निर्वाचन प्रक्रियामा बालबालिकाको प्रयोग बालअधिकारविपरीत हुने स्पष्ट पारे । अधिवक्ता युवराज जोशीले यस्तो कार्य कानुनी रूपमा निषेध रहेको र उल्लङ्घन भए कारबाहीको दायरामा आउने बताए ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले उम्मेदवार तथा दलको सुरक्षामा प्रशासन तयार रहेको उल्लेख गर्दै मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरे । मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले अन्य जिल्लाको तुलनामा डडेल्धुरामा आचारसंहिता पालनाको अवस्था राम्रो रहेको दाबी गर्दै यसपटक सुधार देखिएको बताए ।
डडेल्धुरामा दलहरू एउटै मञ्चमा उभिएर बालअधिकार संरक्षणमा प्रतिबद्ध हुनु केवल औपचारिकता होइन । यो निर्वाचन संस्कारको उन्नत संकेत हो । चुनावी प्रतिस्पर्धा चर्किंदै जाँदा बालबालिकालाई ‘सस्तो जनशक्ति’ वा ‘प्रचारको साधन’ बनाउने प्रबृत्ति रोक्न यस्तो सार्वजनिक सहमति प्रभावकारी हुने उनको विश्वास छ ।
यसले निर्वाचन वातावरण थप मर्यादित र भयरहित बन्छ । उनले भने, विद्यालय र समुदायमा राजनीतिक ध्रुवीकरण कम हुन्छ । बालअधिकार संरक्षणमा जिल्लाको उदाहरणीय अभ्यास स्थापित हुन सक्छ ।
स्वच्छ र निष्पक्ष निर्वाचन केवल मतपत्रको शुद्धताले होइन, प्रक्रियाको नैतिकताले पनि मापन हुने उनको भनाई छ । डडेल्धुरामा देखिएको यो पहल त्यही नैतिकताको दिशामा एक सकारात्मक कदम भएको उहाँले बताए ।















