डोटी । डोटीमा कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले १४ हजार ८९७ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिशपर्धि नेकपा एमालेका दीपक धामीले १४ हजार ११० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सहायक निर्वाचन अधिकारी एवं सूचना अधिकारी चेत बहादुर बोहराका अनुसार रास्वपाका नरेन्द्र बहादुर खड्काले १३ हजार २७० मत प्राप्त गरेका छन । अर्का प्रतिद्वन्दी नेकपाका उम्मेदवार त्रिलोचन भट्ट ५ हजार ४१३ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित रहे । भट्ट सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री हुन भने विजयी उम्मेदवार खड्का उनकै पालामा निर्वाचित प्रदेश सभा सदस्य हुन । खड्का समानुपातिकबाट संविधान सभा सदस्य समेत रहेका थिए ।
राष्ट्रिय जनमोर्चा पार्टीका उम्मेदवार केन्द्रीय महासचिव मणिराज भट्ट (मनोज) ले ४१७ मत मात्रै प्राप्त गरे । त्यस्तै राप्रपाका उम्मेदवार खडक अग्रवालले ५९४ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार प्रकाश कठायतले ३९२ मत प्राप्त गरे ।
नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खगेन्द्र बहादुर शाहीले ३२ मत प्राप्त गर्दा, मितेरी पार्टी नेपालका उम्मेदवार सरस्वती कुमारी पाल (मल्ल) ले ४३ मत मात्रै प्राप्त गरे ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा ९ जनाको उम्मेदवारी परेको थियो । एक लाख २८ हजार ३९९ मतदाता रहेको यस क्षेत्रमा ५२ हजार ४८५ जना ले मतदान गरेका थिए । जुन कुल मतदाता संख्याको ४०.८८ प्रतिशत मात्रै हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा २ हजार ९२० मत बदर भएका छन्।















