कञ्चनपुरका ‘हेभीवेट’ नेता दोब्बर मतान्तरले पछि

Image

कञ्चनपुर । कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट हेभीवेट नेताहरूलाई दोब्बर मतान्तर पछाडि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन ।

निर्वाचन क्षेत्र नम्बर १ मा ३९ हजार ४३४ मत गणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जनक सिंह धामीले १६ हजार १८४ मत प्राप्त गरेका छन । पूर्व खानेपानी मन्त्री नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बिना मगरले ६ हजार ५२८ मत प्राप्त गरेकी छन ।

मगर रास्वपाका नेता धामीभन्दा ९ हजार ६५६ मतान्तरले पछाडि छन । यसैगरी, नेपाली काँग्रेसका नेता गोपीप्रसाद उपाध्यायले ५ हजार ५३३ मत प्राप्त गर्दा नेकपा (एमाले) का नेता तारा लामा तामाङ ५ हजार २८२ मत प्राप्त गरेका छन ।

यस क्षेत्रमा हेभीवेट उम्मेदवारलाई दोब्बर बढी मतले पछाडि पारेका रास्वपाका नेता धामीको विजय हुने सम्भावना प्रबल बनेको छ । निर्वाचन क्षेत्र नम्बर २ मा ५२ हजार ८४२ मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले २७ हजार २३१ मत प्राप्त गरेृका छन ।

यस क्षेत्रमा नेपाली काँग्रेसका हेभीवेट नेता पूर्व परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले ८ हजार ७९८ मत अर्थात तीन गुणा कम मत प्राप्त गरेका छन । यसैगरी नेकपा (एमाले) का उम्मेदवार वचनबहादुर सिंहले ५ हजार १४६ मत प्राप्त गरेका छन । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले ५ हजार ३०९ मत प्राप्त गरेका छन ।

निर्वाचन क्षेत्र नम्बर ३ मा २९ हजार ३० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र महताले १३ हजार ९७६ मत प्राप्त गरेका छन । नेपाली काँग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले ५ हजार ३०९ मत प्राप्त गरेका छन । यहाँ नेकपा (एमाले) का उम्मेदवार डा. दीपक प्रकाश भट्टले ४ हजार ६१७ मत प्राप्त गरेका छन, भने नेपाली कम्युनिस्ट पार्टीका नेता मानबहादुर सुनारले २ हजार ५२५ मत प्राप्त गरेका छन ।

यस निर्वाचन क्षेत्रमा पनि नेपाली काँग्रेसका नेता बोहरा दुई गुणा पछाडि छन, भने नेकपा (एमाले) का नेता भट्ट तीन गुणा तथा नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्व मन्त्री सुनार ६ गुणा पछाडि छन ।