डडेल्धुरामा सामानुपातिक तर्फ पनि रास्वपा पहिलो, पायो प्रत्यक्षभन्दा थोरै बढी मत

Image

डडेल्धुरा । डडेल्धुरामा समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । रास्वपाले प्रत्यक्षभन्दा केही बढी मत ल्याएको छ । गत २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार रास्वपाले १९ हजार २६८ मत प्राप्त गर्दै जिल्लामा सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

समानुपातिकतर्फ नेपाली कांग्रेसले ११ हजार ८५१ मत पाउदा नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ७७२, नेकपा (एमाले)ले ३ हजार २७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ३९२ मत प्राप्त गरेका छन ।

मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोईरालाका अनुसार जिल्लामा समानुपातिकतर्फ कुल ४६ हजार २११ मत खसेको थियो । त्यसमध्ये ४४ हजार १८६ मत सदर भएका थिए भने २ हजार २५ मत बदर भएका छन ।

यसअघि प्रत्यक्षतर्फ पनि डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका थिए । उनले १९ हजार १३१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका थिए । जोशीसंग महर ७ हजार १० मतान्तरले पराजित भएका थिए ।