गोदावरीमा भूकम्प र आगलागीसम्बन्धी नमुना पूर्वअभ्यास

Image

कैलाली । विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित कैलालीको गोदावरी नगरपालिकामा भूकम्प र आगलागीसम्बन्धी नमुना पूर्वअभ्यास कार्यक्रम सम्पन्न गरिएको छ ।

पूर्वअभ्यासमा भूकम्पपछि उत्पन्न हुने आपतकालीन अवस्था र विद्युत् सर्टसर्किटका कारण आगलागी भएको अवस्थाको सिमुलेसन गरिएको थियो । सो क्रममा मानविय सुरक्षालाई प्राथमिकतामा राख्दै खोज तथा उद्धार, आगलागी नियन्त्रण र भवनभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धार अभ्यास गरिएको थियो ।

गोदावरी नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रम युरोपेली आयोग मानविय सहायता विभागको आर्थिक सहयोगमा युएनडीपी, युएनओमन, युनिसेफ, हेन्डीक्याप इन्टरनेसनल तथा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रूडुक)द्वारा सञ्चालित सुपर दोस्रो चरण परियोजनाको सहकार्यमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको प्राविधिक सहजिकरण रहेको थियो । साथै, गोदावरी नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक, विपद् व्यवस्थापन शाखाका फोकल व्यक्ति, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

साझेदार संस्था रुडुकका कार्यकारी निर्देशक अमर साउदका अनुसार यस्ता अभ्यासले समुदाय, विद्यालय, स्वयंसेवक तथा सुरक्षानिकायबीचको समन्वय, सूचना आदान–प्रदान र सहकार्यलाई अझ मजबुत बनाउनेछ । विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता सुधार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए ।

कार्यक्रमले आपतकालीन अवस्थामा खोज तथा उद्धार कार्य र समन्वयात्मक प्रतिकार्यलाई व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।