डडेल्धुरा । नेपालमा संघीयता लागू भएको वर्षदेखि गाउँसम्म सडक पुगाउने सपना देखाइएको थियो । तर वर्षौं बितिसक्दा पनि डडेल्धुराको दुर्गम बस्ती चुडी गाउँ का स्थानीयले त्यो सपना अझै पूरा भएको देख्न पाएका छैनन् ।
महाकाली नदी माथिको भिरालो पहाडमा अवस्थित यो गाउँ आज पनि सडक सञ्जालबाट टाढै छ । गाउँसम्म पुग्न घनाजंगल, उकालो–ओरालो र साँघुरा गोरेटो पार गर्नुपर्छ। जिल्लाको सदरमुकाम अमरगढी बाट चुडी पुग्न करिब ५५ किलोमिटर दूरी भए पनि यातायात सुविधा नहुँदा त्यो दूरी स्थानीयका लागि निकै कठिन यात्रामा बदलिएको छ ।
२०७० सालमै रुपाल सम्म सडक पुगेको थियो। तर त्यहाँबाट चुडी गाउँ अझै करिब १४ किलोमिटर टाढा छ । केही वर्षअघि बलकाँडे नजिक धुराको डाँडासम्म सडक ट्र्याक खोलिएको भए पनि काम त्यहीँ रोकिएको छ । अहिले पनि स्थानीयलाई दैनिक उपभोग्य सामग्री काँधमै बोकेर गाउँ पुर्याउनुपर्ने बाध्यता छ ।
स्थानीय लोकेन्द्र ठकुराठीका अनुसार गाउँमा कोही बिरामी पर्दा समस्या झन् भयावह बन्छ । “भिरको साँघुरो बाटो हुँदै बिरामीलाई डोली वा स्टेचरमा बोकेर दुई घण्टा पैदल हिडेर धुरासम्म पुगाउनु पर्छ,” उनले भने, “त्यहाँ गाडी नपाए फेरि चार–पाँच घण्टा बोकेर रुपालसम्म लैजानु पर्छ ।”
सडक नहुँदा विकास निर्माणका काम पनि महँगो पर्ने गरेका छन् । गाउँमा बन्ने योजनाका सामग्री खच्चर वा स्थानीयले पिठ्युमा बोकेर लैजानुपर्दा लागत दोब्बर हुने गरेको स्थानीयको गुनासो छ ।
यद्यपि गाउँलेहरूको श्रमदानले केही आधारभूत परिवर्तन भने भएका छन् । केही वर्षअघि लघु जलविद्युत् आयोजना बनेपछि गाउँमा बिजुली बलेको थियो । गत वर्ष खानेपानी योजना पनि सम्पन्न भयो। तर स्थानीयका अनुसार अधिकांश योजना गाउँलेहरूको श्रमदानकै भरमा सम्पन्न हुने गरेका छन् ।
करिब २८ घरधुरी रहेको यो गाउँका धेरै युवा रोजगारीका लागि बाहिरिएका छन् । गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै धेरै छन् । “बिरामी बोक्ने मान्छे नै भेट्न मुस्किल हुन्छ,” स्थानीय बताउँछन् ।
चुडी गाउँसम्म सडक पुर्याउन भागेश्वर गाउँपालिकाले करिब १५ लाख रुपैयाँ बराबरको ठेक्का सम्झौता गरेको थियो। गाउँपालिकाका अध्यक्ष हेमराज चटौत का अनुसार बझाङको एसके कन्ट्रक्सनसँग सम्झौता भए पनि हालसम्म काम सुरु हुन सकेको छैन ।
उनका अनुसार निर्माण कम्पनीले डिजेल र निर्माण सामग्रीको मूल्यवृद्धिलाई कारण देखाउँदै काम अघि बढाएको छैन । गाउँपालिकाले पटक–पटक पत्राचार गरे पनि निर्माण कार्य सुरु नभएको उनले बताए ।
सडक नपुग्दा चुडी गाउँमा विकासको गति रोकिएको मात्रै छैन, मानिसको दैनिकी नै जोखिममा परेको छ। राज्यका योजनामा गाउँ जोडिएको देखिए पनि वास्तविकतामा चुडी अझै काँधमै जीवन बोकेर बाँचिरहेको छ ।












