नेटवर्कको पर्खाइमा डडेल्धुराः टावर थपिने चर्चा धेरै, तर सेवा सुधार कहिले ?

Image

डडेल्धुरा । मोबाइलमा ‘नो सर्भिस’ देखिनु डडेल्धुराका धेरै नागरिकका लागि अब नयाँ विषय रहेन । जिल्ला सदरमुकाममै फोन नलाग्ने, इन्टरनेट चल्न छाड्ने र भिडियो कल बीचमै काटिने समस्या यहाँका सर्वसाधारणले दैनिक भोगिरहेका छन् ।

कसैलाई अत्यावश्यक फोन गर्न पहाडको डिल चढ्नुपर्ने अवस्था छ भने कतिपय विद्यार्थी अनलाइन कक्षा लिन होटल वा बजार खोज्दै हिड्छन् । सेवाग्राहीको यही गुनासोबीच नेपाल टेलिकमले डडेल्धुरामा १० वटा नयाँ टावर थप्ने तयारी गरेको चर्चा चलेको छ । तर त्यो योजना कहिले कार्यान्वयन हुन्छ भन्ने अझै अन्योलमै छ ।

भौगोलिक कठिनाइ र कमजोर नेटवर्क

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा मध्यपहाडी भू–भाग, चुरे क्षेत्र र बाक्लो वनजंगलले भरिएको जिल्ला हो । एक हजार ५३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जिल्लाका धेरै बस्ती अझै पनि भरपर्दो दूरसञ्चार सेवाबाट वञ्चित छन् ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय डडेल्धुराका कार्यालय प्रमुख वरिष्ठ प्राविधिक अधिकृत विष्णुराज भण्डारीका अनुसार जिल्लाभर हाल ३२ वटा टेलिकम टावर सञ्चालनमा छन् । तर सबै टावर प्रभावकारी अवस्थामा छैनन् ।

“केही टावरमा अझै विद्युत् लाइन पुगेको छैन,” उनले भने, “विद्युत् नपुगेका टावर पूर्ण क्षमतामा चल्दैनन् । जसले सेवा गुणस्तरमा प्रत्यक्ष असर पारिरहेको छ ।”

उनका अनुसार ग्रामीण भेग मात्र होइन, जिल्ला सदरमुकाम क्षेत्रमै नेटवर्क समस्या बढेपछि नयाँ टावर थप्ने योजना स्वीकृत भएको अनौपचारिक जानकारी जिल्ला कार्यालयले पाएको छ । तर केन्द्रबाट आधिकारिक पत्राचार भने आएको छैन ।

“कुन ठाउँमा टावर बन्ने, कति क्षमताका हुने र कहिलेदेखि निर्माण सुरु हुने भन्ने केही स्पष्ट जानकारी आएको छैन,” भण्डारीले भने ।

सूचना प्रविधिको युगमा पुरानै समस्या

देश डिजिटल नेपाल अभियानको चर्चा गरिरहँदा डडेल्धुराका धेरै गाउँमा अझै सामान्य फोन सम्पर्कसमेत भरपर्दो छैन ।

विद्यार्थी अनलाइन फाराम भर्न बजार धाउन बाध्य छन् । व्यवसायी अनलाइन कारोबार गर्दा नेटवर्क समस्याले हैरान छन् । सरकारी सेवा समेत इन्टरनेटमा आधारित हुँदै गएकाले कमजोर नेटवर्कले जनजीवनमा प्रत्यक्ष असर पारिरहेको स्थानीय बताउँछन् ।

विशेषगरी वर्षायाममा समस्या अझ बढ्ने गरेको छ । खराब मौसमसँगै नेटवर्क कमजोर हुने र इन्टरनेट सुस्त बन्ने समस्या यहाँ सामान्यजस्तै बनेको छ ।

चार ठाउँबाट फाइबर सेवा

हाल डडेल्धुरामा वायरलाइन इन्टरनेट सेवा चार क्षेत्रबाट सञ्चालन भइरहेको छ । सेवा उपलब्ध भएका मुख्य स्थानहरु अमरगढी, आलिताल र परशुरामको जोगबुडा र परिगाउमा रहेका छन ।

कार्यालय प्रमुख भण्डराीका अनुसार अत्तरिया–डडेल्धुरा खण्डमा तीनवटा वैकल्पिक प्रणाली भएकाले जिल्ला पूर्ण रूपमा ‘ब्ल्याकआउट’ भएको अवस्था भने हालसम्म आएको छैन ।

एउटा नेपाल टेलिकमकै एडीएसएस फाइबर, अर्को नेपाल विद्युत् प्राधिकरणसँग भाडामा लिइएको फाइबर र तेस्रो रेडियो लिंक प्रणालीमार्फत सेवा सञ्चालन भइरहेको छ । रेडियो लिंक सेवा कैलालीको बुढीतोला, डोटीको रुवसकाँडा र डडेल्धुराको काफली टावरमार्फत जोडिएको छ ।

कुनै एउटा प्रणालीमा समस्या आए पनि अर्को माध्यमले सेवा धान्ने भएकाले पूर्ण रूपमा इन्टरनेट बन्द नहुने गरिएको प्राविधिकहरू बताउँछन् ।

आशा धेरै, निश्चितता कम

डडेल्धुरामा नयाँ टावर थपिने खबरले स्थानीयमा केही आशा भने जगाएको छ । तर विगतका अधुरा योजना र ढिलासुस्तीका कारण नागरिक अझै विश्वस्त हुन सकेका छैनन् ।

यहाँका बासिन्दा अब घोषणा होइन, व्यवहारिक सुधार चाहन्छन् । किनभने, आजको समयमा सडकजत्तिकै महत्वपूर्ण बनेको छ — भरपर्दो नेटवर्क ।