बाँदर आतङ्कले खाद्य सङ्कटको जोखिम बढाउदै

Image

इटहरी । कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै गएपछि खाद्य सङ्कटको जोखिम बढेको छ । पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषिबाली नष्ट हुँदा किसान सङ्कटमा परेका छन् ।

विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, सङ्खुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाडी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्नबाली सखाप पार्न थालेपछि ग्रामीण जीवन कष्टकर मात्र होइन, खाद्य सङ्कट हुन सक्ने स्थानीय बासिन्दाको भनाइ छ ।

स्थानीय किसानका अनुसार मकै, कोदो, गहुँ, आलु, फलफूल तथा तरकारी खेतीमा सबैभन्दा बढी क्षति पुगेको छ । कृषिउपज बाँदर र अन्य जङ्गली जनावरले खाँदा अन्नबालीको अभाव हुँदै गए पनि त्यसको तथ्याङ्कीय लेखाजोखा भने गरिएको छैन । बाँदरको समस्या गाउँदेखि सङ्घीय संसद्सम्म चर्चामा आए पनि समाधानको कुनै सूत्र भने फेला परेको छैन । कुनै बेला खाद्यान्न निर्यात गर्ने मुलुक अहिले आयात गर्ने मुलुक भएको छ ।

प्रायः प्रत्येक दिन बिहानदेखि बेलुकासम्म खेतबारी कुरेर बस्नुपर्दा बालबालिकाको पढाइ, दैनिक मजदुरी र अन्य कामसमेत प्रभावित भएको छ । कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालैपालो खेतबारीमा बस्न बाध्य छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका–६ का एक किसानले ‘एक सिजनको दुःखले लगाएको मकै एकै दिनमा बाँदरले सखाप पारिदिन्छ’ भन्दै खेतीप्रति नै निराशा बढ्दै गएको गुनासो गरे। भोजपुर र सङ्खुवासभाका धेरै गाउँमा किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका छन् । बाँदर आतङ्कका कारण खेतीबाट आम्दानी घटेपछि युवा रोजगारीका लागि सहर वा विदेश पलायन हुने क्रम पनि बढेको छ ।

बाँदर आतङ्कका कारण सर्वसाधारणको बसोबासमै समस्या देखिन थालेको छ । घरभित्र पसेर अन्न, फलफूल र खाद्यान्न लैजाने, बालबालिका तथा वृद्धमाथि झम्टिने घटना बढेपछि ग्रामीण बस्तीमा त्रास फैलिएको छ । कतिपय स्थानमा बाँदरले झ्यालढोका फोड्ने तथा भान्साघरमा पसेर सामान नष्ट गर्ने गरेको छ ।

विशेष गरी वन क्षेत्र विस्तार, जङ्गली आहारा अभाव र मानव बस्ती नजिकको वन विनाशका कारण बाँदर गाउँ पसेको देखिन्छ । कृषि तथा वनविज्ञ रामअवतार शाह अव्यवस्थित वन व्यवस्थापन, जलवायु परिवर्तन र खेतीयोग्य जमिन परित्याग हुँदा बाँदरको बासस्थान तथा व्यवहारमा परिवर्तन आएको बताउछन । बाँदर आतङ्कका कारण समग्र मानव बस्तीमा अधिक समस्या बढेको बताउँदै उनले बाँदर नियन्त्रणका लागि राष्ट्रिय नीति आवश्यक रहेको बताए ।

कोशी प्रदेशका धेरै स्थानीय तहले बाँदर नियन्त्रणका लागि विभिन्न उपाय अपनाए पनि प्रभावकारी परिणाम आउन सकेको छैन । कतै डोरी टाँग्ने, टिन पिट्ने, साइरन बजाउने र जाली लगाउने काम भए पनि बाँदरको सङ्ख्या बढ्दै गएको छ । केही पालिकाले बाँदर धपाउने उपकरण वितरण गरेका छन् भने कतिपय ठाउँमा बाँदरको बन्ध्याकरणबारे छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन ।

विज्ञ शाहका अनुसार यसको दीर्घकालीन समाधानका रूपमा वन–मानव द्वन्द्व व्यवस्थापन नीति, बाँदरको वैज्ञानिक गणना, वासस्थान व्यवस्थापन तथा क्षतिपूर्ति कार्यक्रम आवश्यक छ । अर्कोतर्फ किसानले भने तत्काल राहत, बाली बिमा र प्रभावकारी नियन्त्रण कार्यक्रम लागु गर्न सरकारसँग माग गरेका छन् । पछिल्लो समय बाँदरको आतङ्कले गाउँमा बस्नै कठिन बन्दै गएको भोजपुरको दिङ्ला निवासी जलेश चापागाईको भनाइ छ ।

घट्दै खेती

ताप्लेजुङ चन्द्र पन्दाकका अनुसार ताप्लेजुङका बाँदरले बालीनाली खाएर ठुलो नोक्सानी पुर्‍याउने हुँदा किसानले गाउँबस्तीका पुछार तथा खोला गड्तिर क्षेत्रमा खेती लगाउन छोड्दै गएका पाइएको छ ।

सिदिङ्वा गाउँपालिका–४ का किसान खड्गबहादुर लिम्बूका अनुसार बाँदरबाट बाली जोगाउन बिहान सबेरैदेखि साँझ अध्याँरो हुँदासम्म खेतीबाली रुँघ्नुपर्ने अवस्था छ । रुँघेर बस्दा पनि बाँदरले छक्याएर बालीनाली खाइदिने गरेको उनले बताए । जिल्लामा रहेका एक नगरपालिकासहित नौ वटै स्थानीय तहका केही हिमाली भेगका वडाबाहेक सबै क्षेत्रमा बाँदरको आतङ्क छ । तुलनात्मक रूपमा लेकभन्दा औल तथा बेँसी क्षेत्रमा बाँदरले बढी नोक्सानी पु¥याउने गरेको किसानको भनाइ छ ।

किसानलाई नै कारबाही

बाँदर आतङ्क खेप्न बाध्य किसानले कुनैबेला खोर र पासो थापेर बाँदर नियन्त्रण गर्ने प्रयास गर्दा कारबाही बेहोर्नुपर्ने अवस्था पनि आउने गरेको छ । बाँदरले सधैँ क्षति गर्ने गरेपछि गत मङ्सिर अन्तिम साता पाथीभरा याङवरक गाउँपालिका–२, थेचम्बुमा एक किसानले खोर (पासो) थापेर थापेर बाँदर मारेको आरोपमा कारबाही खेप्नु पर्‍यो ।

बाँदरले निकै हैरानी दिने गरेको भए पनि बाँदर वा जङ्गली जनावर मार्न नहुने कानुन हुँदा किसानले कारबाही बेहोर्नुपर्ने अवस्था रहेको पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताए । आफ्नो पालिका क्षेत्रमा किसानलाई बाँदरले निकै हैरानी दिने गरेको उनले बताए ।