डडेल्धुरा सदरमुकाममा बिद्युत लाईन शुद्धिकरण

Image

डडेल्धुरा । जिल्ला सदरमुकाम बागबजार, खलंगा, तुफानडाडा क्षेत्रमा बिद्युत लाईन शुद्धिकरण (रिह्याव) गरिएको छ । बजार क्षेत्रमा अव्यवस्थित रुपमा तानिका तारहरु व्यवस्थित पार्दै छोटा पोल हटाई अग्ला पोलसमेत गाडिएका छन । सांघुरो बजार क्षेत्र विस्तार भएपछि पनि बिद्युतका पोल र तार व्यवस्थित हुन नसक्दा बत्ति आउने जाने क्रम बढेको थियो । हाल बिषेश स्थानमा १३ मिटर अग्ला पोलहरु गाडेर नयाँ केवल तार बिछाईएको बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख कपिल जोशीले जानकारी दिए ।

उनका अनुसार बजार क्षेत्रको ६ किमि क्षेत्रमा पुराना पोल र तार हटाई नयाँ पोल र केवल तार विछाईनएको छ । पुराना नाग्गा तारहरु थिए । उनले भने, नांगो तारमा रुखका हाँगाबिगाँ खस्दा, बादर, चराचुरंगी आपसमा जोडिदा करेन्ट लागेर फ्युज जाने गर्दा बत्ति कट हुन्थ्यो । हाल केवल तार विछाईसके पछि करेन्ट लाग्ने समस्या हट्नुकासाथै बत्ति आउजाउको समस्या पनि समाधान भएको उनको भनाई छ ।

उनका अनुसार मुख्य बजार क्षेत्रमा ११ मिटरसम्म अग्ला पोलहरु मात्रै गाडिएका थिए । यी पोलमा बिद्युतका तारसंगै फोन, ईन्टरनेटलगायतका अन्य तारहरु पनि तान्दा कतिपय तारहरु लत्किएका कारण गाडीले चुडाल्ने समस्या पनि थियो । यातयाताका साधानले फोन, ईन्टरनेटका तार चुडाल्दा सेवाग्राही र प्रवाहमा समस्या हुने गरेको थियो । अब यी समस्या पनि हट्ने उनको भनाई छ ।

कार्यालय प्रमुख जोशीले दिएको जानकारी अनुसार बिद्युत प्राधिकरणले आवश्यक उपकरण सामाग्री उपलब्ध गराउने र ज्यालाका लागि करिब आठ लाख रुपियाँको ठेक्का प्रक्रिया मार्फत बिद्युत लाईन शुद्धिकरणको काम गरिएको हो ।

डडेल्धुराका ९६ प्रतिशत घरधुरी बिद्युतको पहुचमा

तीन वर्ष वर्ष अघि २०८० सालसम्म ८५ प्रतिशत घरधुरी मात्रै बिद्युतको केन्द्रिय प्रशारण लाईन ३२ केभीको पहुँच पुगेको डडेल्धुरामा यस वर्षको हालसम्म आईपुग्दा ९६ प्रतिशत घरधुरी बिद्युतको पहुँचमा पुगेका छन । यससंगै डडेल्धुरा जिल्ला सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्लापछि बिद्युतको पहुँच पुग्ने पहिलो पहाडी जिल्ला बनेको छ । कैलाली र कञ्चनपुरमा भने शतप्रतिशत घरधुरीमा बिद्युतको पहुँच छ ।

जिल्लाभर रहेका ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत पुगेको कार्यालय प्रमुखले जानकारी दिए । उनका अनुसार बाँकी एक हजार २१ घरधुरीमा विद्युतीकरण गर्ने काम जारी छ । प्राधिकरणको दुई वर्ष अघिको तथ्यांक हेर्दा २३ हजार घरधुरीमा मात्रै विद्युतको पहुच पुगेको थियो । शतप्रतिसत घरधुरीमा विद्युतिकरणका लागि ४५ करोड बराबर रकमको टेण्डर भए पछि हाल आएर ९६ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको हो ।

सात वटा स्थानीय तह रहेको डडेल्धुराका विकट गाउँवस्तिहरुमा मात्रै विद्युतीकरण हुन बाँकी छन । स्थानीय तह अनुसार तथ्यांक हेर्दा जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा ६० घरधुरी बिद्युतको पहुँचभन्दा बाहिर रहेका छन । अमरगढीको चिरकिट्टे, पाण्डेबस्ती, भरडालगायतका केही घरधुरीमा बिजुली पुगेको छैन ।
यस्तै जिल्लाको दोस्रो नगरपालिका परशुराम नगरपालिकाका ३०८ घरधुरी विद्युतको पहुँचभन्दा बाहिर छन् । यहाँका बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीका सबै घरमा विद्युत् पुगेको छैन ।

आलिताल गाउँपालिकामाका १८० घरधुरीम विद्युतिकरण हुन सकेको छैन । यहाँको काफलीक्षेत्र, तिमुली, तल्लो गयानी, पर्सासैन, बास्कोटा, सेल्टा, मल्लो गोदाम, हमतड र डोला लगायतका गाउँका धेरै घरधुरीमा बिजुली पुगेको छैन ।

भागेश्वर गाउँपालिकाका १४८ घरधुरीमा विद्युतिकरण हुन सकेको छैन । बलडा, काँडे, पत्रम, बलकाँडे, चुँडी, लेकुडा, राडिल, चौड, सतिगाउँ, ओडाखान, रूपालीगाड लगायतका क्षेत्रमा बिजुली पुग्न बाँकी छ ।

यसैगरी नवदुगा गाउँपालिकाका ८५ घरपरिवार बिजुली पुगेको छैन । यहाँको पलेत्थर, बेडुपानी, पनालखेत, मम्मे, सिरोड र दुलिनागाउँका केही घरधुरीमा बिजुली पुग्न बाँकी छ । यस्तै अजयमेरु गाउँपालिकाका खतेडा, कालीपोखरी, धारी, भुल्कुडा र गालबस्तीमा रहेका एक सय घरपरिवारमा बिजुली पुगेको छैन । गन्यपधुरा गाउँपालिकाका उगनाड, जिम्रोडा, कापडीगाउँ, मेड्डी, जैसेरा, कोराल, मोई र रेलका बस्तीका गरि १३१ घरपरिवार विद्युत पुग्न बाँकी छ ।

पहाडका कुनाकान्थरामा एक एक घर भएकाले सबै घरघुरीमा विद्युतिकरण गर्न केही असहज भएको कार्यालय प्रमुख जोशीको भनाई छ । विद्युतिकरणको ठेक्का पाएका ठेकेदारको लापवार्हीका कारण पनि काममा ढिलाई हुने गरेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाहरु बाजुरामा सबैभन्दा कम ३३.५१ प्रतिशत मात्र विद्युतीकरण भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाहरु मध्ये सबै भन्दा बढी डडेल्धुरामा ९६ प्रतिशत विद्युतीकरण भएको छ । डोटीमा ८८.०४, अछाममा ६५.९७, बैतडीमा ६१.७३, बझाङमा ६९.०३ र दार्चुलामा ८४.०१ प्रतिशत विद्युतीकरण भएको छ ।