सुदूरपश्चिमको ‘गेम चेन्जर’ सडकः दैजीदेखि बझाङसम्म नयाँ आशा, बेलापुरमा थप ९ किलोमिटर सडक निर्माण सुरु

Image

डडेल्धुरा। वर्षौंदेखि धुलाम्मे, जोखिमपूर्ण र कठिन यात्राको पर्याय बनेको कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुडा, बेलापुर, ढुङ्गाड हुँदै बझाङ जोड्ने सडक अब नयाँ स्वरूपमा देखिन थालेको छ। सुदूरपश्चिम प्रदेश सरकारको गौरव आयोजनाका रूपमा अघि बढिरहेको यस सडकले प्रदेशको पश्चिमी पहाडी भेगको भविष्य बदल्ने अपेक्षा गरिएको छ।

यसैक्रममा बुधबार बेलापुर सडक खण्डअन्तर्गत ९ किलोमिटर सडक निर्माण कार्यको विधिवत् शिलान्यास गरिएको छ। गाउँपालिकाका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थीलेले शिलान्यास गरेको उक्त सडक निर्माणको जिम्मेवारी इन्द्रधनु निर्माण सेवाले पाएको छ। निर्माण कम्पनीले गुणस्तरीय र समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

यो आयोजना केवल एउटा सडक निर्माण मात्र होइन, सुदूरपश्चिमको आर्थिक, सामाजिक र पर्यटकीय सम्भावनालाई नयाँ गति दिने पूर्वाधारका रूपमा हेरिएको छ। पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार आयोजनाअन्तर्गत हालसम्म २६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने थप ६ किलोमिटर सडक कालोपत्रे अन्तिम चरणमा पुगेको छ। यसले आयोजनाले लक्ष्यतर्फ निरन्तर गति लिइरहेको संकेत गरेको छ।

निर्माण सम्पन्न भएपछि विशेषगरी घटाल–चिर्किट्टे सडक खण्ड सञ्चालनमा आउँदा डडेल्धुराबाट जोगबुडा र दैजी पुग्ने दूरी उल्लेखनीय रूपमा घट्नेछ। अहिले घण्टौँ लाग्ने यात्रा छोटिने मात्र होइन, स्थानीय नागरिकको दैनिक आवागमन सहज हुनेछ। कृषि उत्पादन बजारसम्म पुर्‍याउन, स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत सेवामा पहुँच बढाउन र व्यापारिक गतिविधि विस्तार गर्न पनि यस सडकले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

दीर्घकालीन रूपमा बझाङ हुँदै मानसरोवरसँग सडक सञ्जाल विस्तार गर्ने अवधारणासहित अघि बढाइएको यो आयोजना सुदूरपश्चिमका पहाडी जिल्लाको विकासको मेरुदण्ड बन्न सक्ने विश्वास गरिएको छ। सडक विस्तारसँगै धार्मिक पर्यटन, आन्तरिक पर्यटन तथा सीमापार व्यापारका सम्भावनासमेत बढ्ने देखिएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला बोगटी बिष्टले यस आयोजनाले स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै निर्माण कम्पनी इन्द्रधनु निर्माण सेवा प्रति आभार प्रकट गरिन्। उनले निर्माण कार्य गुणस्तरीय, पारदर्शी तथा निर्धारित समयसीमाभित्र सम्पन्न हुनुपर्नेमा जोड दिइन्।

स्थानीयवासीका लागि यो आयोजना वर्षौँदेखिको अपेक्षाको विषय हो। सडक निर्माणले गति लिएसँगै अब विकासको यात्रा पनि तीव्र हुने आशा पलाएको छ। यदि निर्माण कार्य तोकिएको समयमै सम्पन्न भयो भने यो सडक सुदूरपश्चिमका दुर्गम बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग थप प्रभावकारी रूपमा जोड्ने महत्वपूर्ण आधार बन्नेछ।