बाजुरा । जमिनको छेउछाउमा खेर गइरहेको तिर्खुलाको जरा अहिले स्थानीयका लागि आयस्रोतको माध्यम बन्दै गएको छ । यहाँका नौ वटै स्थानीय तहमा तिर्खुला प्रशस्त मात्रा पाइन्छ । यहाँका स्थानीयले यसको फल खाने तथा दाउराका रूपमा मात्र प्रयोग गर्दै आएका थिए । पछिल्लो समय यसको जराको माग जिल्लाबाहिरबाट हुन थालेपछि जराको खोजी हुन थालेको हो ।
कामको खोजीमा भारतका विभिन्न्न ठाउँमा जाने यहाँका महिलाले अहिले यसको जरा घरमा ल्याउने र त्यसलाई ठेकेदारसँग बिक्री गर्छन् । उनीहरूका लागि अहिले यो जरा रोजगारीको माध्यमसमेत बनेको छ । बाजुराकी स्थानीय रमिता रोकायाले, जमिनको घरछेउमा रहेको तिर्खुला अहिले बिक्री हुन थालेपछि आर्थिक उपार्जनका लागि सहज भएको बताईन ।
उनले भनिन्, “तिर्खुला जेठ र असारको महिना पाक्छ । यसको फल मिठो पनि हुन्छ । यो दाउराका लागी ल्याउने गरेका थियौँ । यसको दाउरा खासै बिक्री हुँदैन थियो । अहिले यसको जरा बजारमा माग हुन थालेपछि आर्थिक कमाइमा सहज भएको छ ।”
तिर्खुला वनमा प्रशस्त पाइए पनि निकाल्न पाइँदैन । अहिले हामीले निजी वन तथा आफ्नो जमिनको छेउछाउमा रहेको तिर्खुलाको बोटबाट जरा निकाल्छौँ, रोकायाले बनिन् ।
तिर्खुला प्रायः यहाँका औल र लेकमा बढी पाइन्छ । यसको जरा खासै ठुलो हुँदैन । यसको जरा र बोक्रा घाउखटिरा, आँखाको रोग, कमलपित्त र ज्वरो कम गर्न प्रयोग गरिन्छ । जिल्ला वन डिभिजन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द डिसी भन्छन, “यहाँका किसानले आफ्नै जमिनमा भएको बोट अहिले बेचिरहेका छन् । यो नेपालगन्ज हुँदै भारतमा जान्छ । यो प्रतिकिलोग्राम ४० रुपियाँका दरले बिक्री हुन्छ ।”
सामुदायिक राष्ट्रिय वनबाट पनि यसको जरा निकाल्न सकिन्छ । यद्यपि यसका लागि कर तिर्नुपर्ने हुन्छ । वनबाट ६० देखि ८० प्रतिशत तिर्खुला निकाल्ने र २० प्रतिशत जति यसको बिउ जोगाउनका लागि राखिने प्रमुख डिसीले बताए ।












