एक सातादेखि अत्यधिक गर्मी, ‘लु’ को जोखिम बढ्दै; चिकित्सकले सावधानी अपनाउन आग्रह
जनकपुर । मधेस प्रदेशमा लगातार बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित बन्न थालेको छ। प्रदेशका अधिकांश जिल्लामा एक सातादेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि दैनिक जीवन, स्वास्थ्य र श्रम क्षेत्रमा प्रत्यक्ष असर परेको छ।
जल तथा मौसम विज्ञान कार्यालय जनकपुरले अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने जोखिम बढेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। कार्यालयका अनुसार हालको उखरमाउलो मौसम अझै केही दिन कायम रहने सम्भावना छ।
‘लु’ लाग्दा अत्यधिक थकान, कमजोरी, चक्कर आउने, तिर्खा लाग्ने, बान्ता हुने तथा बेहोस हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्छन्। प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा. दिग्विजय ठाकुरले दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, हलुका र खुला कपडा लगाउन, टाउको छोप्न तथा प्रशस्त पानी र झोलिलो पदार्थ सेवन गर्न सुझाव दिए ।
“तिर्खा नलागे पनि दिनमा कम्तीमा आठ गिलास पानी पिउनुपर्छ,” डा. ठाकुरले उनले भने, “पानीको कमीले डिहाइड्रेसनको समस्या निम्त्याउन सक्छ। बियर, कफी र सोडाजस्ता पेय पदार्थले झन् समस्या बढाउन सक्छन्।”
अत्यधिक गर्मीले विशेषगरी दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू बढी प्रभावित भएका छन्। चर्को घामका कारण खुला क्षेत्रमा काम गर्न कठिन भएको उनीहरू बताउँछन्। यस्तै, सहरी क्षेत्रमा समेत दिउँसोको समयमा मानिसको आवतजावत उल्लेख्य रूपमा घटेको छ।
जल तथा मौसम विज्ञान कार्यालय जनकपुरका प्रमुख राजीव झाले यस वर्ष मनसुनी वर्षा समयमै हुने सम्भावना कम देखिएको बताए । उनका अनुसार जेठ १८ देखि असोज १३ सम्मको अवधिलाई मनसुनको समय मानिए पनि जेठको अन्त्यतिर पुग्दासमेत मधेसमा गर्मीको प्रभाव कम भएको छैन।
चिकित्सकहरूले गर्मी बढेसँगै एलर्जी, डिहाइड्रेसन तथा ‘लु’ सम्बन्धी समस्या बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। स्वास्थ्यकर्मीहरूले बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूलाई आवश्यकबाहेक घरबाहिर ननिस्कन समेत सुझाव दिएका छन्।












