कैलाली । गोदावरी नगरपालिकाका १२ वटै वडामा सामुदायिक आगलागी नियन्त्रण तथा आपतकालीन प्रतिकार्य सम्बन्धी पूर्वअभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।
घरायसी तथा सामुदायिक स्तरमा हुने आगलागीका घटनामा प्रभावकारी प्रतिकार्य, विपद् पूर्वतयारी तथा क्षति न्यूनीकरणका उपायबारे स्थानीय समुदायलाई व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। विभिन्न सामुदायिक स्थलमा आयोजित पूर्वअभ्यासमा स्वयंसेवक, विद्यार्थी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो।
गोदावरी नगरपालिकाको आयोजना तथा युरोपेली आयोगको आर्थिक सहयोगमा सञ्चालित ‘शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजना’ अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो। परियोजनामा युनाईटेड नेशन्स डेम्लपमेन्ट प्रोग्राम (युएनआइसीइएफ) युएन ओमन र ह्याडीक्याप इन्टरनेशनलको प्राविधिक सहयोग रहेको छ भने स्थानीय साझेदार संस्था रुडुक नेपालले कार्यान्वयन गरेको हो।
गोदावरी नगरपालिकाका नगरप्रहरी प्रमुख सन्दुकराम चौधरीले यस्ता अभ्यासले विपद् प्रतिकार्यमा प्रविधि र जनशक्तिको प्रभावकारी परिचालन तथा सरोकारवालाबीच समन्वय बढाउन सहयोग पुग्ने बताए ।
त्यस्तै, सुपर परियोजनाका परियोजना अधिकृत मृदुल जोशीका अनुसार अभ्यासका क्रममा आगो नियन्त्रण र निभाउने विभिन्न विधि तथा प्रविधिको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। यसबाट स्थानीय समुदायमा आगलागी रोकथाम, पूर्वतयारी र आपतकालीन अवस्थाको सामना गर्ने क्षमता अभिवृद्धि भएको उनले बताए ।
नगरपालिकाले यस्ता कार्यक्रमले समुदायमा विपद् व्यवस्थापन सम्बन्धी चेतना बढाउनुका साथै स्थानीय स्तरमा सुरक्षित र उत्थानशील समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।














