अमरगढी–७ र उग्रतारा स्वास्थ्य चौकीको आधुनिक संयुक्त भवन उद्घाटन

Image

डडेल्धुरा । अमरगढी नगरपालिका–७ को वडा कार्यालय र उग्रतारा स्वास्थ्य चौकीको संयुक्त कार्यालय भवन शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। अमरगढी नगरपालिकाका नगर प्रमुख दिल्लीराज जोशीले भवन उद्घाटन गर्दै स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले आधुनिक संरचना निर्माण गरिएको बताए।

पोखरा बजार नजिक रावलतोली कुटी गुफा तथा उग्रतारा माविको सिमानामा रहेको आफ्नै लालपुर्जा भएको जग्गामा निर्माण गरिएको भवन गत वर्षदेखि सञ्चालनमा आए पनि शुक्रबार औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रममा नगर प्रमुख जोशीले २०५३ सालमा स्थापना भएको जिल्लाको पहिलो नगरपालिका अमरगढीमा अहिले आएर व्यवस्थित वडा कार्यालय भवनहरू निर्माण भइरहेको उल्लेख गरे। उनका अनुसार ११ वडा रहेको नगरपालिकामध्ये वडा नं. ७ सहित सात वटा वडाका आफ्नै भवन निर्माण भइसकेका छन्।

वडा अध्यक्ष खडक बोहराले वडा तथा सार्वजनिक संस्थाको नाममा जग्गा अभाव हुँदा कार्यालय भवन निर्माणमा वर्षौं कठिनाइ भएको स्मरण गर्दै स्थानीयवासी, रावलतोली कुटी गुफा समिति र उग्रतारा माविको सहयोगमा जग्गा प्राप्त भएपछि भवन निर्माण सम्भव भएको बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा साइनो कन्ट्रक्सनसँग भ्याटसहित १ करोड ८३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। भवनसँगै पर्खाल र घेरबार निर्माण गर्दा कुल लागत करिब दुई करोड रुपैयाँ पुगेको उनले जानकारी दिए।

यसअघि उग्रतारा स्वास्थ्य चौकी महाकाली राजमार्ग किनारमा जस्तापाताको सानो भवनबाट सञ्चालन हुँदै आएको थियो। सडकको मोड नजिक रहेको भवनमा सवारी साधनको आवाज र दुर्घटनाको जोखिमका कारण सेवा प्रवाहमा समस्या हुने गरेको थियो।

स्वास्थ्य चौकी इञ्चार्ज अहेव लाल खत्रीका अनुसार नयाँ भवनमा बर्थिङ सेन्टर, स्वास्थ्यकर्मीको आवास र व्यवस्थित उपचार कक्ष सञ्चालनमा आएपछि स्वास्थ्य सेवा प्रदान गर्न तथा सेवाग्राहीलाई सुविधा लिन निकै सहज भएको छ।

स्थानीयवासीले नयाँ भवन निर्माणसँगै वडा प्रशासनिक सेवा र आधारभूत स्वास्थ्य सेवा थप गुणस्तरीय तथा प्रभावकारी हुने अपेक्षा गरेका छन्।