डडेल्धुरा । भागेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा महिला, बालबालिका तथा किशोरीको पोषण अवस्था सुधारलाई मुख्य प्राथमिकतामा राख्दै संघीय सरकारबाट विशेष अनुदानतर्फ सबैभन्दा बढी बजेट सुनिश्चित गरेको छ।
संघीय सरकारले गाउँपालिकाको “बालबालिका, महिला तथा किशोरी पोषण अवस्था सुधार कार्यक्रम” का लागि १ करोड ८० लाख रुपैयाँ विनियोजन गर्ने सुनिश्चितता गरेको हो। यो गाउँपालिकाले प्राप्त गर्ने विशेष अनुदानअन्तर्गतको सबैभन्दा ठूलो बजेट रहेको बताइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाका अनुसार ग्रामीण क्षेत्रका बालबालिका, महिला तथा किशोरीहरूमा देखिने कुपोषण, रक्तअल्पता तथा पोषणसम्बन्धी समस्यालाई न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिनेछ। उनले पोषण सुधारलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको र त्यसअनुसार योजना अघि बढाइएको जानकारी दिए।
गाउँपालिका अध्यक्ष हेमराज चटौतले पोषणमा गरिएको लगानीले समुदायको समग्र स्वास्थ्य अवस्थामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनका अनुसार स्वस्थ बालबालिका, सशक्त महिला र सक्षम किशोरी निर्माण भएमा त्यसले शिक्षा, उत्पादनशीलता र आर्थिक विकासमा समेत प्रत्यक्ष प्रभाव पार्नेछ।
“पोषण सुधारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउँछ। स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएकाले यस कार्यक्रमले गाउँपालिकाको विकास र समृद्धिको बाटो थप फराकिलो बनाउनेछ,” अध्यक्ष चटौतले भने।
गाउँपालिकाले आगामी वर्ष पोषण सचेतना, गर्भवती तथा सुत्केरी महिलाको पोषण व्यवस्थापन, किशोरी स्वास्थ्य प्रवर्द्धन तथा बाल कुपोषण न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
पहाडी भूगोलमा अवस्थित भागेश्वर गाउँपालिकामा विकासका धेरै चुनौती छन्। सडक, शिक्षा, खानेपानी र रोजगारीका विषय चर्चामा आइरहन्छन्। तर गाउँपालिकाले यसपटक भविष्यको पुस्ताको स्वास्थ्य, शिक्षा र उत्पादकत्वसँग प्रत्यक्ष सम्बन्ध राख्ने पोषणमा लगानी बढाएको अध्यक्ष चटौतको भनाई छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार देशभर पाँच वर्षमुनिका बालबालिकामध्ये करिब २५ प्रतिशतमा पुड्कोपन ८ प्रतिशतमा ख्याउटेपन र १९ प्रतिशतमा कम तौलको समस्या रहेको छ।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय औसतभन्दा केही गम्भीर अवस्था देखिन्छ। स्वास्थ्य कार्यालयहरूको तथ्यांक अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा बालबालिकामा कुपोषण, गर्भवती महिलामा रक्तअल्पता र किशोरीहरूमा पोषण अभाव अझै चुनौतीको रूपमा रहेको छ।
विशेषगरी पहाडी क्षेत्रमा पौष्टिक आहारको पहुँच, स्वास्थ्य सचेतना, आयआर्जनको सीमितता तथा सन्तुलित भोजन सम्बन्धी ज्ञानको अभावले समस्या थप जटिल बनेको भागेश्वर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानबहादुर साहुले बताए ।
उनका अनुसार भागेश्वर गाउँपालिकामा हाल करिब ३ हजारभन्दा बढी बालबालिका, प्रजनन उमेर समूहका हजारौं महिला तथा किशोरीहरू प्रत्यक्ष रूपमा पोषणसँग सम्बन्धित कार्यक्रमका लक्षित समूह हुन्।
स्वास्थ्य संस्थाहरूमा आउने तथ्यांकले गर्भवती तथा सुत्केरी महिलामा रक्तअल्पताको समस्या, बालबालिकामा कम तौल र किशोरीहरूमा आइरनको कमी देखाउने गरेको उनको भनाई छ ।













