डडेल्धुरा । महाभारत पर्वत गन्यापधुरा गाउँपालिका–४ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गन्याप शिखर शिलासम्म पुग्ने पदमार्ग निर्माण भइरहेको छ । झण्डै ७२ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको पदमार्गले भक्तजन तथा पर्यटकलाई शिखरसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङका अनुसार हालसम्म साँघुरो र चिप्लो रहेको परम्परागत गोरेटो बाटोलाई करिब तीन मिटर चौडाइमा विस्तार गरी ढुंगा बिछ्याएर पक्की बनाउने काम भइरहेको छ । भिरालो तर्फ फरामको रेलिंग र पर्खाल निर्माणसमेत भईरहेको उनले बताए । निर्माणाधीन पदमार्गको लम्बाइ करिब साढे चार सय मिटर रहेको छ ।
गाउँपालिकाका प्राविधिक केशव साहुले निर्माण सामग्री सडक नपुगेको क्षेत्रमा खच्चरमार्फत ढुवानी गर्नुपर्ने भएकाले लागत बढेको बताए । सडक पुगेको स्थानबाट शिखरसम्म एक बोरा सिमेन्ट पुगाउन मात्रै करिब तीन सय रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ ।
महाभारत पर्वतको घना जंगलमा रहेको गन्याप शिखर धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ । यहाँ रहेको लाटा गन्याप देवतालाई शक्तिशाली देवताका रूपमा पूजा गरिन्छ । स्थानीय विश्वासअनुसार निसन्तान दम्पतीले यहाँ पूजा गरे सन्तान प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।
हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाका अवसरमा यहाँ लाटा गन्यापधुरा मेला लाग्ने गर्दछ। मेला भर्न डडेल्धुरा, डोटी, बैतडी, अछाम, बझाङलगायत सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतबाट समेत हजारौँ श्रद्धालु आउने गर्छन ।
गन्याप शिखरसँग जोडिएको रोचक किंवदन्ती पनि छ । स्थानीय कथनअनुसार भगवान गणेश रुमायल गाउँबाट सर्पको भेषमा महाभारत शृङ्खलाको शिखरतर्फ गएर हालको गन्याप शिलामा विलीन भएका थिए । शिखरमा रहेको विशाल शिलाको चारैतिर अहिले पनि सर्पको आकृति देख्न सकिने स्थानीयको विश्वास छ ।
त्यस्तै, रेल गाउँका एक स्थानीयले निगालो काट्ने क्रममा ढुंगामा हँसिया रगड्दा ढुंगाबाट रगत बगेको र त्यसपछि उक्त स्थानमा देवताको उत्पत्र् िभएको किंवदन्ती पनि प्रचलित छ ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले पदमार्ग निर्माणपछि धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार गन्यापधुरा क्षेत्र धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वका कारण सुदूरपश्चिमकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
















