डडेल्धुरा । स्वास्थ्य उपचारका लागि धनगढी, नेपालगञ्ज वा अन्य ठूला शहर धाउनुपर्ने भित्रीमधेश क्षेत्रका नागरिकका लागि जोगबुढा प्रादेशिक अस्पतालले राहतको खबर ल्याएको छ। अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै हाइड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ।
सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय मातहत रहेको अस्पतालले हाल स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकबाट नियमित सेवा प्रवाह भइरहेको जनाएको छ। यसबाट डडेल्धुरा,डोटी र आसपासका क्षेत्रका महिलाले आफ्नै क्षेत्रबाट विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्।
अस्पतालले जारी गरेको सुचना अनुसार जेठ २८ गतेदेखि हाइड्रोसिल र हर्नियासम्बन्धी शल्यक्रिया सेवा निःशुल्क रूपमा सुरु गरिएको हो। आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि बाहिर जान नसकेका बिरामीलाई लक्षित गर्दै सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णराज जोशीद्वारा जारी सूचनामा स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको उल्लेख गरिएको छ। अस्पतालले हाइड्रोसिल वा हर्नियाको समस्या भएका बिरामीलाई सम्पर्क गरी सेवा लिन आग्रह समेत गरेको छ।
विगतमा सामान्य शल्यक्रियाका लागि समेत टाढाका अस्पताल पुग्नुपर्ने बाध्यता रहेका भित्रीमधेशका नागरिकका लागि यो सेवा महत्वपूर्ण उपलब्धि मानिएको छ। विशेषज्ञ चिकित्सकको उपलब्धता र निःशुल्क शल्यक्रिया सेवाले स्थानीयस्तरमै उपचार पाउने अवसर बढाएको छ।
पछिल्लो समय जोगबुढा प्रादेशिक अस्पतालले विभिन्न विशेषज्ञ सेवा थप्दै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासलाई तीव्रता दिएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै स्थानीय नागरिकको समय, खर्च र सास्ती समेत घट्ने अपेक्षा गरिएको छ।















