यस वर्ष मात्रै डडेल्धुराका २२० जनालाई उद्यमशिलता तथा सिप विकास तालिम

Image

डडेल्धुरा । बढ्दो बेरोजगारी कम गरि व्यवसायी बनाउन घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले चालु आर्थिक वर्ष २०८२/०८३ मा २२० जनालाई उद्यमशिलता तथा सिप विकास तालिम दिएको छ । कार्यालय प्रमुख केशव भण्डारीका अनुसार चालु आवमा कार्यालयको जम्मा बजेट एक करोड ४२ लाख रकम थियो ।

चालु तर्फ एक करोड ३२ लाख १० हजार र पूजिगत तर्फ १० लाख रकम रहेको थियो । उनले भने, प्रबिधि हस्तान्तरण तर्फको बजेट पनि चालुमा राखिएको हुन्छ । हालसम्म पूजीगत खर्च नौ लाख ४० हजार र चालुगत खर्च ८२ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

उनका अनुसार लघु तथा साना उद्योग आधुनिकिकरण प्रबिधि हस्तान्तरण कार्यक्रममा ३६ जना लाभान्वित हुने गरि डी फ्रिज, सिलाई कटाई मेसिन, दाना बनाउने मेसिन वितरण गरिएका छन । उद्यमशिलता तथा सिप विकास तालिम २२० जनालाई दिएको छ । यस कार्यक्रम अन्तरगत ३८ जना दलित समुदायका स्थानीयलाई ड्राईभिंग तालिम, जिल्लामा पहिलो पटक ३१ जना महिलाहरु लाई मासुको अचार तालिम, १३ जनालाई मौरी विकास तालिमसंगै एकएक गोला मौरीसंगै मौरीघार पनि उपलब्ध गराईएको छ । अजयमेरु गाउँपालिकासंगको लागत साझेदारीमा वडा नं. ६ मा यो कार्यक्रम लागु गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।

यसैगरी जिल्लमै पहिलो पटक सिताके च्याउ उत्पादन, बैण्ड बाजा बजाउने, सिलाई कटाई, कपाल कटाई तालिमसंगै उद्यमसिशलता, व्यवसाय सुधार र कैदीबन्दिहरु लाईसमेत तालिम दिईएको उनले बताए ।