वडा नं. ४ का ५२ परिवारलाई केही दिनमै बाँडिने
डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नं. ५ का ४५ घुरधुरीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ। मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेटी तथा वडा नं. ५ का अध्यक्ष सीपी रोस्याराले स्थानीयलाई लालपुर्जा हस्तान्तरण गरेका हुन्।
उपाध्यक्ष सेटीका अनुसार भूमि व्यवस्था आयोगले खारेज हुनु अघि नै गाउँपालिकालाई उक्त लालपुर्जा उपलब्ध गराएको भए पनि विभिन्न कारणले वितरण प्रक्रिया ढिलो भएको थियो। यसबीच भूमि व्यवस्था आयोग नै खारेज भएपछि अन्य वडाका लाभग्राहीहरू भने अझै प्रतीक्षामै रहेका छन्।
वडा नं. ४ र ५ मा ऐलानी जग्गा उपभोग गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको जग्गा नापजाँच सम्पन्न गरिएको वडा नं. २ का अध्यक्ष मनोज देउवाले बताए । वडा नं. ४ का लाभग्राहीलाई केही दिनमै लालपुर्जा वितरण गरिने उनले बताए । उनका अनुसार वडा नं. ४ का ५२ परिवारलाई केही दिनमै लालपुर्जा बाँडिने तयारी गाउँपालिकाले गरेको छ ।
वर्षौंदेखि उपभोग गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्राप्त भएपछि स्थानीयवासी उत्साहित भएका छन्। लालपुर्जा पाएसँगै अब जग्गाको स्वामित्व सुरक्षित हुनुका साथै बैंकिङ कारोबार, सरकारी सेवा सुविधा तथा अन्य कानुनी प्रक्रियामा समेत सहजता हुने अपेक्षा गरिएको छ।
स्थानीयले लामो समयदेखिको प्रतीक्षा अन्त्य भएको भन्दै खुसी व्यक्त गरेका छन्। गाउँपालिकाले बाँकी लाभग्राहीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग पहल जारी राख्ने जनाएको छ।












