घना देवदार वनको काख डागेश्वरीमा बन्दै सत्संग भवन, दान–दक्षिणाबाट जुट्यो साढे ७ लाख बढी

Image

डडेल्धुरा । अजयमेरु गाउँपालिका वडा नं. ६ मा अवस्थित धार्मिक आस्थाको केन्द्र डागेश्वरी मन्दिर परिसरमा सत्संग तथा भजन–कीर्तनका लागि भवन निर्माण भइरहेको छ। स्थानीय भक्तजनहरूको सक्रियता, श्रद्धा र दान–दक्षिणाबाट निर्माण भइरहेको उक्त भवन धार्मिक तथा सामाजिक एकताको नमूना बनेको छ।

बैतडीको पाटन नगरपालिका वडा नं. ७ दानखोला–किम्तोलीका धर्मप्रेमीहरू तथा अजयमेरु गाउँपालिका वडा नं. ५ र ६ का सत्संग प्रेमीहरूको पहलमा भवन निर्माण अभियान सुरु गरिएको हो। विगतमा भजन–कीर्तन सञ्चालन गर्न उपयुक्त स्थानको अभाव भएपछि स्थायी सत्संग भवन निर्माण गर्ने अवधारणा अघि सारिएको स्थानीय शिक्षक खेमराज पन्तले जानकारी दिए ।

उनका अनुसार पाटन नगरपालिका–७ का शिक्षक धर्मानन्द भट्टको संयोजकत्वमा सत्संग समाज गठन गरिएको छ भने स्थानीय ज्येष्ठ नागरिक बलराम पालको अध्यक्षतामा सत्संग भवन निर्माण समिति गठन गरी आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ।

भवन निर्माणका लागि अजयमेरु गाउँपालिकाले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने बाँकी रकम स्थानीय श्रद्धालु, शुभेच्छुक तथा धर्मप्रेमी व्यक्तिहरूबाट दान–दक्षिणा संकलन गरेर जुटाइँदै आएको छ। आर्थिक संकलनको जिम्मेवारी स्वयं शिक्षक पन्तले सामाजिक सञ्जालमार्फत निर्वाह गरिरहेका छन ।

पन्तका अनुसार हालसम्म करिब साढे सात लाख रुपैयाँ संकलन भइसकेको छ। सत्संग समाजका सदस्य विष्णुदत्त पन्त, बलराम पाल लगायतका व्यक्तिहरूले विभिन्न क्षेत्रबाट सहयोग जुटाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

निर्माण कार्य यही गतिमा अघि बढे असार महिनाभित्र भवन निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ। भवन निर्माण सम्पन्न भएपछि डागेश्वरी मन्दिरमा नियमित सत्संग, भजन–कीर्तन, धार्मिक प्रवचन तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ।

समितिले भवन निर्माणमा सहयोग पुर्‍याउने सम्पूर्ण दाताहरूको विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने तथा आगामी दिनमा प्रमाणपत्रसहित सम्मान गर्ने योजना समेत बनाएको जनाएको छ। धार्मिक आस्था, सामूहिक प्रयास र स्थानीय एकताको बलमा निर्माण भइरहेको यो सत्संग भवनले डागेश्वरी क्षेत्रको धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।