डडेल्धुरा। चुरे क्षेत्रदेखि महाभारत पर्वतसम्म फैलिएको आलिताल गाउँपालिकाका प्रमुख विकास योजनाका लागि आगामी आर्थिक वर्ष २०८३/०८४ मा २० करोड ५५ लाख रुपैयाँ बजेट सुनिश्चित भएको छ।
गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीका अनुसार सडक, खानेपानी, सिँचाइ तथा कृषि उत्पादन वृद्धि केन्द्रित योजनाहरूका लागि विभिन्न निकायबाट बजेट सुनिश्चित भएको हो।
सबैभन्दा ठूलो रकम वडा नं. ८ अन्तर्गतको डोला गाउँ चक्रपथ कालोपत्रे तथा जालटुडा–ग्वानी–सुक्मले सडक निर्माणका लागि विनियोजन गरिएको छ। उक्त योजनाका लागि ६ करोड ९३ लाख रुपैयाँ सुनिश्चित भएको छ। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको योजनामा पहिलो वर्षका लागि ९० लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष पार्कीले बताए।
उनका अनुसार डोला गाउँलाई इको भिलेजका रूपमा विकास गर्ने अवधारणाअनुसार पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। साथै करिब ५ करोड रुपैयाँ लागतको लिफ्ट सिँचाइ योजना पनि सम्पन्न हुने चरणमा पुगेको छ।
कृषि तथा पशुजन्य उत्पादन वृद्धि तथा स्थानीयको आयआर्जन सुधार गर्ने उद्देश्यले वडा नं. ६ र ७ मा सञ्चालन हुने कोइराली–दैनी दोबाटा उत्पादन वृद्धि, आयआर्जन तथा जीविकोपार्जन सुधार कृषि कार्यक्रमका लागि २ करोड ६४ लाख रुपैयाँ सुनिश्चित भएको छ।
त्यसैगरी, काफली बृहत् खानेपानी योजना निर्माणका लागि ३ करोड रुपैयाँ तथा भावर लिफ्ट सिँचाइ योजनाका लागि २ करोड ९८ लाख रुपैयाँ बजेट सुनिश्चित भएको अध्यक्ष पार्कीले जानकारी दिए।
गाउँपालिकाले आगामी वर्ष पूर्वाधार विकाससँगै कृषि उत्पादन, सिँचाइ विस्तार र खानेपानी पहुँचलाई मुख्य प्राथमिकतामा राखेर योजना कार्यान्वयन गर्ने जनाएको छ। यी योजनाहरू सम्पन्न भएपछि स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउनुका साथै कृषि उत्पादन र आर्थिक गतिविधिमा समेत उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।












