डडेल्धुरा । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक महत्व तथा सांस्कृतिक विविधताले भरिपूर्ण गन्यापधुरा गाउँपालिका मुकाम गणेशपुर जोड्ने मुख्य सडक विस्तारको काम तीव्र रूपमा अघि बढाइएको छ।
संघीय संरचना कार्यान्वयनपछि साविकका असिग्राम, गणेशपुर, मष्टामाण्डौ र कैलपालमाण्डौ गाविसलाई समेटेर गठन गरिएको गन्यापधुरा गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडकहरू भए पनि व्यवस्थित सडकको अभाव थियो। वर्षायाममा ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाले सास्ती भोग्नुपर्नेसँगै प्रशासनिक सेवा प्रवाहसमेत प्रभावित हुने गरेको थियो।
यस समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले रडुवा–कलारीमाण्डौ–गणेशपुर सडकलाई प्राथमिकतामा राखेर विस्तार कार्य सुरु गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङका अनुसार स्थानीय पूर्वाधार विकास कार्यालयको ३ करोड रुपैयाँ बजेटमा सडकको करिब चार किलोमिटर खण्ड स्तरोन्नति भइरहेको छ।
उनका अनुसार ठेक्का सम्झौतामार्फत सडक फराकिलो बनाउने, पर्खाल तथा नाली निर्माण गर्ने र डडेल्धुरा–दिपायल सेती मार्गसँग जोडिने उकालो खण्डमा करिब ५०० मिटर आरसीसी ढलान गर्ने काम भइरहेको छ। नालीसहित सडकको चौडाइ पाँच मिटर हुने जनाइएको छ।
“यो सडक वर्षायाममा पनि पूर्ण रूपमा अवरुद्ध नहुने गरी निर्माण भइरहेको छ। सेती राजमार्गको कालोपत्रे सडकबाट छोटो दूरीमै गाउँपालिका केन्द्र पुग्न सकिने भएकाले यसलाई प्राथमिकतामा राखिएको हो,” तामाङले बताए।
यो सडकले गाउँपालिका केन्द्रसँगै मालिगाउँ, कोरगाउँ, चम्साललगायत आधा दर्जनभन्दा बढी बस्तीलाई प्रत्यक्ष लाभ पुर्याउनेछ।
राष्ट्रिय जनगणना २०७८ अनुसार १३ हजार ७२२ जनसंख्या रहेको गन्यापधुरा गाउँपालिकाको क्षेत्रफल १३५.६५ वर्ग किलोमिटर छ। महाभारत पर्वत शृंखलाको काखमा अवस्थित यस क्षेत्रबाट डडेल्धुरा, बैतडी, डोटी र कैलालीका विभिन्न भूभागको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
गाउँपालिकाको नाम प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गन्यापधुरा शिखरको नामबाट राखिएको हो। गन्यापधुरा शिखर, मष्टामाण्डौ, असिग्रामलगायतका धार्मिक स्थलहरूले यस क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा चिनाएका छन्।
गाउँपालिका अध्यक्ष ईन्द्र कार्कीका अनुसार कृषि, पशुपालन र वैदेशिक रोजगारी यहाँका नागरिकको प्रमुख आयस्रोत भए पनि पछिल्ला वर्षहरूमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद तथा पर्यटन पूर्वाधारमा गरिएको लगानीले विकासले गति लिएको छ।
निर्माणाधीन जिल्लाकै व्यवस्थित खेलमैदान, धार्मिक पर्यटन प्रवर्द्धन तथा पदमार्ग निर्माणका योजनाले गन्यापधुरालाई नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ। पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको जन्मभूमिका रूपमा समेत परिचित गन्यापधुरा राजनीतिक, सामाजिक तथा ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको गाउँपालिकाका रूपमा स्थापित हुँदै गएको छ।















