दुर्गम राजुलमा स्वास्थ्य पूर्वाधारको फड्को, क्यान्सर संकेत पहिचान गर्ने कुल्टर उपकरण जडान हुँदै

Image

डडेल्धुरा । अजयमेरु गाउँपालिका–६ को दुर्गम बस्ती राजुलमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गएको छ। स्वास्थ्य संस्थाको नयाँ भवन निर्माणसँगै रगत परीक्षणमार्फत विभिन्न रोगको प्रारम्भिक अवस्था पहिचान गर्न सक्ने कुल्टर (हेमाटोलोजी एनालाइजर) उपकरण जडान गर्ने तयारी गरिएको छ।

डडेल्धुरा–बैतडी सीमा क्षेत्र सुर्नया खोलामाथि अवस्थित राजुलमा रहेको आधारभूत स्वास्थ्य संस्थाले केही वर्षदेखि प्रयोगशाला सेवा सञ्चालन गर्दै आएको छ। यसबाट अजयमेरु गाउँपालिका वडा नं. ५ देवल दिव्यपुर र वडा नं. ६ राजुलका बासिन्दासँगै बैतडीको मेलौली नगरपालिका तथा शिवनाथ गाउँपालिकाका स्थानीयसमेत लाभान्वित हुँदै आएका छन्।

वडा नं. ६ का अध्यक्ष हरी भण्डारीका अनुसार स्वास्थ्य संस्थाको ६० लाख रुपैयाँ लागतको पक्की भवन निर्माण भइरहेको छ। गत आर्थिक वर्षमा अजयमेरु गाउँपालिकाले ३८ लाख रुपैयाँ विनियोजन गरेको थियो भने चालु आर्थिक वर्षमा सामाजिक विकास कार्यालय डडेल्धुराले थप २४ लाख रुपैयाँ उपलब्ध गराएको छ।

भण्डारीका अनुसार स्वास्थ्य सेवा विभाग अन्तर्गत केन्द्रीय आपूर्ति व्यवस्थापन महाशाखा, टेकुबाट कुल्टरसहित करिब ५० लाख रुपैयाँ बराबरका स्वास्थ्य परीक्षण उपकरण प्राप्त भएका छन्। भवन निर्माण सम्पन्न भएपछि आगामी आर्थिक वर्ष २०८३/०८४ देखि राजुलबाट व्यवस्थित प्रयोगशाला सेवा, भिडियो एक्स–रे तथा आधुनिक स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने लक्ष्य रहेको छ।

“नयाँ उपकरण जडान भएपछि रगत परीक्षणमार्फत विभिन्न रोगहरूको प्रारम्भिक संकेत पहिचान गर्न सहज हुनेछ। यसले दुर्गम क्षेत्रका नागरिकलाई समयमै स्वास्थ्य परीक्षण गराउन ठूलो राहत मिल्नेछ,” अध्यक्ष भण्डारीले बताए।

सेवा सञ्चालनमा आएपछि अजयमेरु गाउँपालिकाका वडा नं. ५ र ६ का बासिन्दासँगै बैतडीको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका दशौं हजार नागरिकले नजिकैबाट स्वास्थ्य परीक्षण तथा उपचार सेवा पाउने अपेक्षा गरिएको छ।

यसैबीच, राजुलमा आयुर्वेदिक सेवा विस्तारका लागि आरोग्य केन्द्रको पक्की भवन पनि निर्माणाधीन छ। सामाजिक विकास कार्यालय डडेल्धुराको १५ लाख रुपैयाँ लागतमा दुई कोठे भवन निर्माण भइरहेको छ। यसअघि प्रिफ्याब तथा जस्तापाताले बनेको संरचनाबाट सेवा दिँदै आएको आरोग्य केन्द्रको भवन असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आरोग्य केन्द्रबाट आयुर्वेदिक औषधि तथा परामर्शमार्फत स्थानीय बिरामीलाई उपचार सेवा प्रदान गरिँदै आएको छ। स्वास्थ्य संस्था र आरोग्य केन्द्रका नयाँ भवन निर्माण सम्पन्न भएपछि दुर्गम राजुलमा आधुनिक तथा परम्परागत दुवै प्रकारका स्वास्थ्य सेवाको पहुँच थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।