डडेल्धुरा । कक्षाकोठा, पाठ्यपुस्तक, गृहकार्य र परीक्षा मानिने विद्यालयको अर्थ फेरिदै गएको छ । गत विगतमा विद्यार्थीको सफलता राम्रो अंक ल्याउनुमा सीमित मानिन्थ्यो । तर समय परिवर्तनसँगै शिक्षाको परिभाषा पनि बदलिँदै गएको छ । अहिलेको आवश्यकता केवल प्रमाणपत्रधारी जनशक्ति उत्पादन गर्नु नभई सीपयुक्त, आत्मनिर्भर र अवसर सिर्जना गर्न सक्ने नागरिक तयार गर्नु भईसकेको छ । यही सोचलाई व्यवहारमा उतार्ने प्रयास डडेल्धुराका केही विद्यालयमा गरिएको छ ।
परशुराम नगरपालिका–१ स्थित भागेश्वर माध्यमिक विद्यालयमा पुग्ने जो–कोहीलाई विद्यालय परिसरभित्र फरक दृष्य देख्न सकिन्छ । यहाँ विद्यार्थीहरू पाठ्यपुस्तक पढ्न मात्र नभई आँप काट्न, अचार बनाउन, प्याकेजिङ गर्न र बजार व्यवस्थापनको योजना बनाउनसमेत व्यस्त देखिन्छन । विद्यालयका ६० जना विद्यार्थीले सामूहिक रूपमा चार क्विन्टल अर्थात् चार सय किलो आँपको अचार उत्पादन गरेका छन ।
विद्यार्थीहरुले उत्पादनदेखि बजारसम्मको सम्पूर्ण प्रक्रिया सिकिरहेका छन ।
उनीहरूका लागि यो प्रयोगात्मक कक्षा हो, जहाँ गणित, व्यवस्थापन, श्रम, बजार र उद्यमका पाठ एकैसाथ सिक्न पाइन्छ । विद्यालयका प्रधानाध्यापक करवीर सिंह बोहराका अनुसार अचार उत्पादनको उद्देश्य आम्दानी मात्र नभई विद्यार्थीमा उद्यमशील सोचको विकास गर्नु हो । विद्यार्थीले उत्पादन कसरी गर्ने, लागत कसरी निकाल्ने, बजार कसरी खोज्ने भन्ने कुरा व्यवहारमै सिकिरहेका छन, उनले भने ।
परशुराम नगरपालिका–१२ स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा विद्यार्थीहरू विद्युत् वायरिङ सिक्न व्यस्त छन । ३५ जना विद्यार्थीले घरायसी विद्युत् जडान र मर्मतसम्बन्धी आधारभूत सीप हासिल गरेका छन । उनीहरूका लागि यो केवल तालिम नभई भविष्यमा स्वरोजगार बन्न सक्ने सम्भावनाको ढोका पनि हो ।
कक्षाकोठामा पढिएको सिद्धान्तलाई व्यवहारमा उतार्न पाउँदा आत्मविश्वास बढेको बिद्यार्थीहरुको भनाई छ । धेरै युवाहरू अवसर र मार्गदर्शनको अभावमा आफ्नो लक्ष्यबाट विचलित हुने अवस्थामा यस्ता कार्यक्रमले जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत गरिरहेको उनीहरूको अनुभव छ ।
अमरगडी नगरपालिका १० राईस्थित सहस्त्रलिङ माध्यमिक विद्यालयले भने कृषि उद्यमलाई शिक्षासँग जोडेको छ । विद्यालय परिसरमै च्याउ खेती सुरु गरिएको छ । विद्यार्थीहरूले च्याउ उत्पादन, व्यवस्थापन, बजार खोजी र कृषि व्यवसायका आधारभूत पक्ष सिकिरहेका छन ।
शिक्षकहरूको प्रत्यक्ष निगरानीमा सञ्चालन भइरहेको कार्यक्रमले विद्यार्थीलाई कृषि क्षेत्रप्रति आकर्षित गरेको छ । कृषि पेशालाई केवल परम्परागत जीविकोपार्जनको माध्यम नभई आधुनिक उद्यमका रूपमा बुझ्न मद्दत पुगेको विद्यालयले जनाएको छ ।
उच्च शिक्षा हासिल गरेका धेरै युवा पनि रोजगारी खोज्दै भौतारिने अवस्थामा सीपको अभाव, उद्यमशील सोचको कमी र व्यवहारिक ज्ञानको न्यूनताले शिक्षित बेरोजगारीको समस्या झन् गहिरिँदै गर्दा यो चुनौतीलाई मध्यनजर गर्दै शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराले जिल्लाका तीन विद्यालयमा नमुना कार्यक्रमका रूपमा उद्यमशीलता विकास तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको हो
इकाइ प्रमुख खडकबहादुर महतका अनुसार परम्परागत शिक्षाले मात्र विद्यार्र्थीलाई आत्मनिर्भर बनाउन सक्दैन । आजको युगमा सीप, नवप्रवर्तन र उद्यमशीलता अपरिहार्य बनेका छन । विद्यालय तहदेखि नै विद्यार्थीलाई व्यावहारिक शिक्षा दिन सके भविष्यमा उनीहरू आफैं अवसर सिर्जना गर्न सक्षम हुने उनको विश्वास छ ।
डडेल्धुराका यी विद्यालयमा भइरहेको अभ्यासले एउटा महत्वपूर्ण सन्देश शिक्षा केवल परीक्षा पास गर्ने माध्यम नभई जीवन जिउने कला सिकाउने प्रक्रिया पनि भएको जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले बताए । आँपको अचार, विद्युत् वायरिङ वा च्याउ खेती जस्ता गतिविधि साना लाग्न सक्छन, उनले भने, तर यसले विद्यार्थीको सोच, सीप र भविष्य निर्माणमा ठूलो प्रभाव पार्न सक्छन ।












