डडेल्धुरा । विद्यालय छोड्ने (ड्रपआउट) समस्या न्यूनीकरण गर्दै आर्थिक रूपमा कमजोर परिवारलाई आयआर्जनसँग जोड्ने उद्देश्यले नवदुर्गा गाउँपालिकाले बालबालिकाका अभिभावकलाई बाख्रा वितरण गरेको छ।
गाउँपालिकाभित्रका २८ वटा विद्यालयबाट छनोट गरिएका एक–एक जना विद्यार्थीका अभिभावकलाई एक–एक वटा बाख्रा प्रदान गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए।
उनका अनुसार आर्थिक अभावका कारण धेरै बालबालिकाले बीचमै विद्यालय छोड्ने, रोजगारीका लागि सानै उमेरमा घरबाहिर जानुपर्ने तथा पढाइ प्रभावित हुने समस्या देखिएकाले अभिभावकलाई आयआर्जनमा सक्षम बनाउन यो कार्यक्रम सञ्चालन गरिएको हो।
छात्रवृत्ति स्वरूप नगद दिँदा शिक्षा बाहेक अन्य आवश्यकतामा खर्च हुने र शैक्षिक सामग्री वितरण गर्दा पनि त्यसको प्रभाव सीमित हुने देखियो, अध्यक्ष अवस्थीले भने, त्यसैले दीर्घकालीन रूपमा परिवारको आम्दानी बढाउने उद्देश्यले बाख्रा वितरण गरेका हौं।
गाउँपालिकाका शिक्षा शाखाका नायब सुब्बा पुष्पराज जोशीका अनुसार वडा नं. १ र २ मा शिक्षा क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था लुनिभा बालसरोकारले गाउँपालिकासँगको सहकार्यमा ५० प्रतिशत लागत साझेदारी गरी यसअघि १२ आर्थिक रूपमा विपन्न परिवारलाई बाख्रा वितरण गरेको थियो। त्यसैलाई निरन्तरता दिँदै बाँकी वडाका लक्षित परिवारलाई गाउँपालिकाले आफ्नै बजेटबाट बाख्रा उपलब्ध गराएको हो।
गाउँपालिकाभित्रकै स्थानीय बाख्रा फार्मबाट प्रतिवटा १० हजार रुपैयाँका दरले खरिद गरिएका बाख्रा अभिभावकलाई हस्तान्तरण गरिएको जोशीले बताए।
उनका अनुसार वितरण गरिएका सबै बाख्रामा ट्याग लगाइएको छ, बीमा गरिएको छ र बिरामी परे गाउँपालिकाको पशु सेवा शाखाले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ। क्षति भए बीमा दाबी गर्न सकिने गरी लाभग्राहीसँग सम्झौता समेत गरिएको उनले जानकारी दिए।
विद्यालयसँगको समन्वयमा आर्थिक अवस्था कमजोर तथा विद्यालय छोड्ने जोखिममा रहेका विद्यार्थीका अभिभावक छनोट गरी बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको विश्वास छ कि आयआर्जनमा सुधारसँगै अभिभावकको आर्थिक अवस्था बलियो बन्ने, बालबालिकालाई नियमित विद्यालय पठाउने वातावरण बन्ने र भविष्यमा व्यावसायिक बाख्रापालनतर्फ समेत स्थानीयलाई आकर्षित गर्न यो कार्यक्रम प्रभावकारी हुनेछ।












