आज र भोलि भारी वर्षाको चेतावनी, बाढी–पहिरोको उच्च जोखिमः सतर्क रहन मौसम विभागको आग्रह

Image

काठमाडौँ । देशभर मनसुनी गतिविधि थप सक्रिय भएसँगै आज (मङ्गलबार) र भोलि (बुधबार) विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

महाशाखाले जनाएको अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएको छ। यसकै प्रभावले मनसुन थप सक्रिय बनेको र वर्षाको मात्रा पनि बढ्ने अनुमान गरिएको छ।

आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ। ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

लगातारको वर्षासँगै पहाडी क्षेत्रमा पहिरो, भूक्षय र सडक अवरोधको जोखिम बढ्न सक्ने जनाइएको छ। त्यस्तै, तराई तथा सहरी क्षेत्रमा डुबान हुन सक्ने, ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

विभागले अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, मौसमको अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न पनि अनुरोध गरेको छ।

विशेषगरी पहिरो प्रभावित सडकखण्ड, नदी तटीय क्षेत्र तथा बाढीको जोखिम भएका बस्तीमा बसोबास गर्ने नागरिकलाई सम्भावित विपद्प्रति पूर्वतयारी अवस्थामा रहन मौसमविद्हरूले सुझाव दिएका छन्।