डडेल्धुरा। बालबालिकाको सिकाइ प्रक्रियामा अभिभावकको सक्रिय सहभागिता बढाउँदै शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले डडेल्धुराको नवदुर्गा गाउँपालिकाले विद्यालयमा अभिभावकलाई समेत कक्षामा सहभागी गराउने नयाँ अभ्यास सुरु गरेको छ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सातवटै माध्यमिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकलाई लक्षित गरी ‘स्वस्थ मस्तिष्क, सबल विद्यार्थी’ अभियानअन्तर्गत मनोसामाजिक शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
गाउँपालिकाका अनुसार गत वर्ष सञ्चालन गरिएका अतिरिक्त कक्षा तथा शैक्षिक भेलाजस्ता कार्यक्रमबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि यस वर्ष सिकाइको वातावरण सुधार गर्न शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षको सोच, व्यवहार र जिम्मेवारीमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित यो अभियान सुरु गरिएको हो।
पालिकाले शिक्षकले प्रभावकारी रूपमा अध्यापन गरे पनि घरमा अभिभावकको साथ र विद्यार्थीको मनोबल कमजोर हुँदा अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न कठिन हुने निष्कर्ष निकालेपछि नयाँ अभ्यास अघि बढाएको जनाएको छ। अभियानअन्तर्गत विद्यालयको पठनपाठनलाई पाठ्यपुस्तकमै सीमित नराखी शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई बलियो बनाउने प्रयास भइरहेको छ।
शिक्षा, युवा तथा खेलकुद शाखाले सञ्चालन गरेको कार्यक्रममा सातवटै माध्यमिक विद्यालयका करिब ११ सय विद्यार्थी, अभिभावक र शिक्षक सहभागी छन्। गाउँपालिकाका अनुसार कार्यक्रमको उद्देश्य परीक्षामा अंक बढाउनु मात्र नभई विद्यालय, परिवार र समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउँदै बालबालिकाको समग्र व्यक्तित्व विकासमा सहयोग पुर्याउनु हो।
विद्यार्थीलाई आत्मविश्वास अभिवृद्धि, लक्ष्य निर्धारण, अध्ययनप्रतिको रुचि विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन, सकारात्मक सोच, भविष्यको करियर छनोट तथा परीक्षाको तयारीका विषयमा प्रशिक्षण दिइएको छ। साथै, पढाइमा कमजोर भएका विद्यार्थीलाई असफलतालाई सिकाइको अवसरका रूपमा लिन र आफ्नै क्षमतामा विश्वास गर्न प्रेरित गरिएको छ।
अभिभावकलाई बालबालिकाको मनोभावना बुझ्ने, नियमित संवाद गर्ने, घरमा अध्ययनको अनुकूल वातावरण बनाउने, माया, सम्मान र प्रोत्साहन दिने तथा गाली, डर र दण्डको सट्टा सकारात्मक व्यवहार अपनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको छ। कार्यक्रममार्फत बालबालिकाको शिक्षामा परिवारको भूमिका विद्यालयसरह महत्वपूर्ण हुने सन्देश प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ।
तालिममा सहभागी स्थानीय कलापति बोहोराले कार्यक्रमपछि अभिभावकको भूमिकाप्रतिको आफ्नो बुझाइ परिवर्तन भएको बताइन्। पहिले पढाइ विद्यालयको मात्र जिम्मेवारी भन्ने सोच रहेको भए पनि अहिले घरको वातावरण, अभिभावकको व्यवहार र बालबालिकालाई दिइने समयले उनीहरूको सिकाइमा ठूलो प्रभाव पार्ने कुरा आफूले बुझेको उनको भनाइ छ।
अर्की सहभागी इन्द्रादेवी बिष्टले बालबालिकासँग माया, सम्मान र नियमित संवाद नै राम्रो शिक्षाको आधार भएको अनुभव सुनाइन्। नवदुर्गा–४ की डिग्रादेवी बिष्टले पनि तालिमपछि बालबालिकाको भावना बुझ्ने, उनीहरूसँग बढी समय बिताउने र सकारात्मक प्रोत्साहन दिने बानी विकास भएको बताइन्।
शिक्षकहरूलाई विद्यार्थीमैत्री शिक्षण विधि, मनोवैज्ञानिक अवस्था बुझेर अध्यापन गर्ने, कक्षाकोठामा सक्रिय सहभागिता बढाउने, नियमित अध्ययनको बानी विकास गराउने तथा सिकाइमा कमजोर विद्यार्थीलाई व्यक्तिगत परामर्श र अभिभावकसँग समन्वय गरेर सहयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको छ।
गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले गुणस्तरीय शिक्षा कुनै एक पक्षको प्रयासबाट मात्र सम्भव नहुने बताए। शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्ष जिम्मेवार बने मात्र विद्यालयको शैक्षिक उपलब्धिमा सुधार आउने उनको भनाइ छ।
उनले बालबालिका नियमित विद्यालय गएको, पढाइमा रुचि देखाएको र अनुशासन पालना गरेको वा नगरेको विषयमा अभिभावकले पनि उत्तिकै चासो दिनुपर्ने बताए। विद्यालयको जिम्मेवारी विद्यालयमै सीमित राखेर गुणस्तरीय शिक्षा सम्भव नहुने उनको धारणा छ।
अध्यक्ष अवस्थीका अनुसार ग्रामीण क्षेत्रमा धेरै अभिभावक रोजगारी, खेतीपाती र दैनिक जीविकोपार्जनमा व्यस्त हुँदा बालबालिकाको पढाइमा पर्याप्त समय दिन सकिरहेका छैनन्। पारिवारिक समस्या, आत्मविश्वासको कमी, सामाजिक दबाब र भविष्यप्रतिको अन्योलका कारण पनि धेरै विद्यार्थी पढाइमा पछाडि पर्ने गरेकाले यस्ता समस्या समाधानका लागि मनोसामाजिक शिक्षालाई शैक्षिक सुधारको आधार बनाइएको उनले बताए।
गाउँपालिकाले आगामी वर्षहरूमा सिकाइ उपलब्धिको नियमित मूल्याङ्कन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।












