१० वर्षको प्रतीक्षापछि भागेश्वरका हजारौं रोपनी जमिनमा पानी पुग्ने आशा

Image

डडेल्धुरा । एक दशकसम्म अलपत्र अवस्थामा रहेको नौगाउँ–डुङरी–किमोला सिंचाइ योजना अन्ततः सम्पन्न हुने चरणमा पुगेपछि भागेश्वर गाउँपालिका–४ का स्थानीयमा नयाँ आशा पलाएको छ। लामो समयदेखि आकाशे पानीकै भरमा खेती गर्दै आएका किसान अब वर्षैभरि सिंचाइ सुविधा पाउने अपेक्षामा छन्।

आर्थिक वर्ष २०७२/०७३ मा करिब तीन करोड रुपैयाँभन्दा बढी लागतमा सुरु गरिएको यो योजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर निर्माण कम्पनीले काम अधुरै छाडेपछि योजना करिब १० वर्षसम्म अलपत्र रह्यो। यस अवधिमा निर्माण गरिएका संरचना जीर्ण भए, खेतहरू बाँझो बन्दै गए र रोजगारी तथा खेतीपातीको अभावमा गाउँबाट बसाइँसराइसमेत बढ्दै गयो।

यस योजनाले भागेश्वर गाउँपालिका–४ का नौगाउँ, डुङरी, किमोला लगायत आधा दर्जनभन्दा बढी बस्तीका हजारौं रोपनी उर्वर जमिनमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय डडेल्धुराले २०७२ साल जेठमा शर्मा थेगीम जेभी, कैलालीसँग निर्माण सम्झौता गरेको थियो। तर निर्माण कम्पनीले सुरुवाती चरणमा मूलबाट पाइप बिछ्याउने, आरसीसी ढलानसहित पोखरी निर्माण गर्ने काम गरेपछि योजना अधुरै छाडेको थियो।

डिभिजन कार्यालयका प्रमुख अमर पालका अनुसार निर्माण कम्पनी कालोसूचीमा पर्ने जोखिम बढेपछि अहिले तीव्र गतिमा काम अघि बढाइएको छ। सुरुमा निर्माण गरिएका आठवटै पोखरी जीर्ण भइसकेपछि तिनै स्थानमा नयाँ पोखरी निर्माण गरिएको छ भने चोरी भएका पाइपको सट्टा नयाँ पाइप जडान गरिएको छ।

कार्यालयका प्राविधिक रोशन भट्टका अनुसार महाभारत पर्वतअन्तर्गत विसानकन्या जंगलको मुहानबाट करिब ८ हजार ३ सय मिटर दूरी पार गर्दै पानी गाउँसम्म ल्याइएको छ। २०० मिलिमिटर व्यासको पाइपमार्फत प्रतिक्षण २५ लिटर पानी प्रवाह हुने व्यवस्था गरिएको उनले बताए।

सुरुमा वितरण नाला निर्माणको जिम्मेवारी उपभोक्ता समितिलाई दिने सम्झौता भए पनि काम समयमै अघि नबढेपछि निर्माण कम्पनीले नै नाला निर्माणको काम पनि सम्पन्न गरिरहेको वडा नं. ४ का अध्यक्ष वसन्तराज चटौतले जानकारी दिए।

उनका अनुसार योजना सम्पन्न भएपछि यस क्षेत्रका पारिलो खेतमा धान, गहुँ, मकै लगायत अन्नबालीको उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। साथै किसानहरूले बेमौसमी तरकारी खेती र व्यावसायिक कृषि विस्तार गर्न सक्नेछन्।

स्थानीय चक्रबहादुर ठकुराठीका अनुसार सिंचाइ सुविधा पुगेपछि वर्षाको भरमा खेती गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ। अब व्यावसायिक तरकारी खेती, पशुपालन र अन्य कृषि उद्यम सञ्चालन गर्न सहज हुन्छ, उनले भने। यसले गाउँमै रोजगारी सिर्जना हुने र बसाइँसराइ रोक्न पनि सहयोग पुग्ने विश्वास छ।

एक दशकसम्म अधुरो रहेको यो योजना सम्पन्नतिर उन्मुख भएपछि स्थानीयले अब खेतमा पानीसँगै गाउँको भविष्य पनि फर्किने आशा गरेका छन्। सिंचाइ सुविधा विस्तारसँगै उत्पादन वृद्धि, आयआर्जन र कृषि व्यवसायीकरणमार्फत भागेश्वर गाउँपालिकाको ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।