फेरी रोकिँदा सामान ढुवानीमा सास्ती, स्थानीय फेरि नाम्लोमै भर

Image

बाजुरा । बाजुराको जगनाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकालाई जोड्ने कर्णाली नदीको फेरी सेवा वर्षायाम सुरु भएसँगै बन्द भएपछि स्थानीयवासी पुनः दैनिक उपभोग्य सामग्री ढुवानीमा सास्ती खेप्न बाध्य भएका छन्।

असारको पहिलो सातादेखि कर्णाली नदीमा पानीको बहाव बढेपछि फेरी सञ्चालन रोकिएको हो। हिउँदभर सञ्चालनमा रहेको फेरीबाट स्थानीयले मात्र होइन, जिप, ट्र्याक्टरलगायत सवारीसाधनसमेत सहज रूपमा वारपार गर्दै आएका थिए। तर फेरी बन्द भएसँगै स्वामीकार्तिक खापरतर्फ जाने सबै सवारीसाधन अहिले पिलीचौरमै रोकिन थालेका छन्।

यसका कारण खाद्यान्न, निर्माण सामग्री तथा अन्य दैनिक उपभोग्य वस्तुहरू भरियामार्फत ढुवानी गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। स्थानीयवासीले भारी बोकेर घण्टौँ पैदल यात्रा गर्नुपर्दा समय, श्रम र ढुवानी खर्चसमेत बढेको छ।

स्वामीकार्तिक खापर गाउँपालिका–२ का नरबहादुर लुहारले हिउँदमा गाडीमार्फत सिधै घरसम्म सामान पुग्ने गरे पनि अहिले चार घण्टासम्म भारी बोकेर हिँड्नुपर्ने अवस्था रहेको बताए। उनका अनुसार कर्णाली नदीमा पक्की पुल नहुँदा वर्षायाम सुरु हुनेबित्तिकै सवारीसाधन नदीपारि नै रोकिने गर्छन् र स्थानीयको थाप्लोबाट नाम्लो कहिल्यै छुट्दैन।

जिप चालक शेरबहादुर कार्कीका अनुसार कर्णाली नदीमा स्थायी पुल निर्माण भए वर्षभरि नै गाउँसम्म सवारीसाधन सञ्चालन गर्न सकिनेछ। यसले स्थानीयको आवतजावत मात्र होइन, बजार आपूर्ति, कृषि उत्पादनको ढुवानी र आपत्कालीन सेवासमेत सहज बनाउने विश्वास उनको छ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले गाउँपालिकाका अधिकांश वडा सडक सञ्जालसँग जोडिए पनि कर्णाली नदीमा पुल नहुँदा वर्षायाममा ती सडकको उपयोग हुन नसकेको बताए। उनका अनुसार हिउँदमा सबै वडासम्म गाडी पुग्ने भए पनि बर्खा लागेपछि सबै सवारीसाधन पिलीचौरमै रोकिन बाध्य हुन्छन्।

उनले कर्णाली नदीमा स्थायी पुल निर्माणका लागि सङ्घीय तथा प्रदेश सरकारसँग पटक–पटक माग गरिँदै आएको जानकारी दिँदै पुल निर्माण नभएसम्म प्रत्येक वर्ष स्थानीयले यस्तै समस्या दोहोरिरहने बताए।

स्थानीयका अनुसार फेरी सेवा अस्थायी समाधान मात्र भएकाले कर्णाली नदीमा शीघ्र पक्की पुल निर्माण गर्नु नै दीर्घकालीन विकल्प हो। पुल निर्माण भए बाजुराको पूर्वी–उत्तरी भेगका हजारौँ नागरिकलाई वर्षभरि सुरक्षित र सहज यातायात सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।