यी पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Image

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग र मधेस तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ । रासस