काठे पुल भाँचिएर खोलामा बगेका दार्चुलाका पुरुष मृत फेला

Image

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ मा काठे पुल भाँचिँदा खोलामा बगेका एक पुरुषको शव मंगलबार बिहान फेला परेको छ। मृतक स्थानीय अन्दाजी ५५ वर्षीय धनसिंह धामी रहेको प्रहरीले जनाएको छ।

सोमबार साँझ घर फर्किने क्रममा आरबाटा क्षेत्रस्थित बारबाली खोला तर्ने बेला काठे पुल एक्कासि भाँचिएपछि धामी खोलामा बगेका थिए। घटनापछि उनी बेपत्ता भएका थिए।

घटनालगत्तै स्थानीय बासिन्दा र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। स्थानीय हिक्मत धामीका अनुसार मंगलबार बिहान गाडखोलामा धामीको शव फेला परेको हो।

प्रहरीले घटनास्थलको मुचुल्का उठाउने तथा शव पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयवासीले उक्त क्षेत्रमा रहेको काठे पुल जीर्ण भइसकेको भन्दै समयमै सुरक्षित पुल निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।