डडेल्धुरा । सायल झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि पर्याप्त पूर्वाधारको अभावका कारण ओझेलमा परेको पर्यटकीय गन्तव्यका रूपमा रहेको छ । झरना क्षेत्रमा पाँच वर्ष पहिले केही पूर्वाधरकार संरचना निर्माण भए पनि हाल भने नयाँ संरचना निर्माण हुन सकेका छैनन् । तर त्यहाँ पुग्ने सडक, स्थानीय पूर्वाधार र प्रचारप्रसारमा केही सुधार देखिएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–१ स्थित रुपाल क्षेत्रको सायल झरना जिल्ला सदरमुकाम बागबजारबाट करिब ६० किलोमिटर दूरीमा पर्छ । केही वर्षअघिसम्म यात्रा कठिन मानिने यस क्षेत्रमा अहिले सडक पूर्वाधारमा सुधार भएको छ । बागबजारदेखि भागेश्वर–२ को रुपालसम्म करिब ४३ किलोमिटर र त्यहाँबाट करिब १७ किलोमिटरको दूरीमा सायल झरना अवस्थित छ । जिल्ला सदरमुकामबाट सवारी साधनमा करिब तीन घण्टाको यात्रा गर्दा सायल गाउँ नजिकको लिउड गाउँसम्म पुगिन्छ । लिउडबाट पैदल ३० मिनेटमा सायल झरना पुग्न सकिन्छ ।
आर्थिक वर्ष २०७७/७८ मा करिब ४२ लाख रुपियाँको लागतमा भागेश्वर गाउँपालिकाले झरना क्षेत्रमा बाटो र दृश्यावलोकनका लागि भौतिक संरचना निर्माण गरेको थियो । झरनाको विस्तृत परियोजना निर्माण गरी भौतिक संरचनाहरु निर्माणमा आवश्यक बजेट माग गरिएको गाउँपालिका अध्यक्ष मेहराज चटौतले बताए ।
उनका अनुसार हाल जिल्ला सदरमुकामबाट भागेश्वर गाउँपालिका ४–५ को सिमा खुल्लाखेतसम्म करिब २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । त्यस्तै, खुल्लाखेतदेखि बुर्ससम्मको सडक फराकिलो बनाउने कार्य सम्पन्न भएको छ । उक्त खण्डमा सडक विस्तारसँगै नाली निर्माण, पर्खाल निर्माण र स्तरोन्नतिका काम भएपछि सवारी आवागमन पहिलेको तुलनामा धेरै सहज बनेको गाउँपालिका अध्यक्ष चटौतले जानकारी दिए । उनका अनुसार यसले स्थानीय बासिन्दालाई मात्र नभई सायल झरनासम्म पुग्ने पर्यटकलाई समेत प्रत्यक्ष लाभ पुगेको छ ।
सडकको पहुँच सहज बन्दै गएपछि सामाजिक सञ्जालमा सायल झरनाका भिडियो र तस्बिरहरू पनि बढ्न थालेका छन । फेसबुक, टिकटक र युट्युबमार्फत झरनाको प्राकृतिक सौन्दर्य देशभर परिचित बन्दै जाँदा आन्तरिक पर्यटकको आकर्षण पनि क्रमशः बढिरहेको उहाँको भनाइ छ ।
रुपाल आफैं ऐतिहासिक पहिचान बोकेको क्षेत्र हो । वडा नं. २ का वडा अध्यक्ष उपेन्द्र बहादुर जोराका अनुसार तत्कालीन राजा महेन्द्रले पैदल भ्रमणका क्रममा यस क्षेत्रलाई ‘कान्छी नेपाल’को उपमा दिनु भएको थियो । अहिले यहाँ असिग्राम क्याम्पस सञ्चालनमा छ भने १० शय्याको अस्पताल निर्माण अन्तिम चरणतर्फ अघि बढिरहेको छ । सडक, शिक्षा र स्वास्थ्य पूर्वाधारको विकाससँगै यस क्षेत्रको समग्र सम्भावना पनि विस्तार हुँदै गएको छ ।
यद्यपि, सायल झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन अझै धेरै काम गर्न बाँकी छ । झरनासम्म सुरक्षित पदमार्ग, विश्रामस्थल, सूचना बोर्ड, दृश्यावलोकन स्थल (भ्यू प्वाइन्ट), शौचालय, पार्किङ, फोहोर व्यवस्थापन र सुरक्षा रेलिङजस्ता आधारभूत संरचना निर्माण आवश्यक देखिन्छ। यस्ता पूर्वाधार विकास गर्न सके पर्यटकको बसाइ अवधि बढ्नुका साथै स्थानीयस्तरमा होटल, होमस्टे, कृषि तथा हस्तकलाका उत्पादनको बजारसमेत विस्तार हुन सक्ने उनको भनाई छ ।
प्राकृतिक सम्पदा, ऐतिहासिक महत्व र सुधारिएको सडक पहुँचलाई एकीकृत गर्दै सायल झरनालाई पर्यटन प्रवद्र्धनको योजनामा प्राथमिकता दिन सके यसले भागेश्वर गाउँपालिका मात्र नभई समग्र डडेल्धुराको पर्यटन विकासमा नयाँ आयाम थप्न सक्छ । पाँच र वर्षअघिको सम्भावना अहिले विस्तारै वास्तविकतामा रूपान्तरण हुन थालेको संकेत देखिए पनि यसलाई दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सरकार, स्थानीय तह, निजी क्षेत्र र समुदायबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको उनले बताए ।












