यातायात कार्यालय डडेल्धुराले एक वर्षमै उठायो ६ करोड बढी राजस्व, लाइसेन्स सेवा बन्द हुँदा आम्दानीमा असर

Image

डडेल्धुरा । यातायात व्यवस्था कार्यालय डडेल्धुराले आर्थिक वर्ष २०८२/०८३ मा ६ करोड ३ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। पाँच वर्षअघि स्थापना भएको कार्यालयले सेवा विस्तारसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि गर्दै गएको छ।

कार्यालय प्रमुख मिनबहादुर लामिछानेका अनुसार संकलित राजस्वमध्ये सबैभन्दा बढी ४ करोड ८१ लाख ४५ हजार रुपैयाँ सवारी साधन करबाट प्राप्त भएको हो। यस्तै, सवारी चालक अनुमति पत्र, सवारी दर्ता तथा किताबसम्बन्धी दस्तुरबाट ८८ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। बाँकी रकम यातायात व्यवसाय दर्ता तथा अन्य सेवा शुल्कबाट संकलन भएको उनले जानकारी दिए ।

कार्यालयका कर्मचारी महेन्द्र कार्कीका अनुसार गत आर्थिक वर्षमा ४०० वटा सवारी चालक अनुमति पत्र नवीकरण भएका छन्। नवीकरण गरिएका सवारीमध्ये दुईपांग्रे ६ हजार ६५६ र चारपांग्रे १ हजार ४६ रहेका छन्।

त्यसैगरी, १ हजार २६६ वटा सवारी साधनको रुट परमिट नवीकरण तथा नयाँ रुट परमिट जारी गरिएको छ। हालसम्म ६२ वटा नयाँ रुट परमिट प्रदान गरिएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा जिप र मोटरसाइकल गरी ६०५ वटा नयाँ सवारी चालक अनुमति पत्र वितरण गरिएको थियो। तर गत वैशाखदेखि नयाँ लाइसेन्स वितरण सेवा पूर्ण रूपमा बन्द भएपछि राजस्व संकलनमा समेत असर परेको कर्मचारी कार्कीले बताए

डडेल्धुरामा करिब तीन वर्षदेखि सञ्चालनमा रहेको लाइसेन्स सेवा कार्यालयसँग आफ्नै जग्गा र ट्रायल सेन्टर नहुँदा रोकिएको हो। यातायात व्यवस्था कार्यालयले उग्रतारा ड्राइभिङ सेन्टरसँगको सम्झौताअनुसार ट्रायल परीक्षा सञ्चालन गर्दै आएको थियो। तर वैशाख ३ गतेदेखि उक्त सम्झौता रद्द गरिएपछि नयाँ लाइसेन्स सेवा बन्द भएको थियो।

तत्कालीन कार्यालय प्रमुख विष्णुदत्त भट्टका अनुसार २०७९ असारदेखि ड्राइभिङ सेन्टरसँगको सम्झौताअनुसार ट्रायल सेन्टर प्रयोग गरी सेवा सञ्चालन हुँदै आएको थियो। तर सेवाग्राहीबाट सवारी साधन प्रयोगबापत अतिरिक्त शुल्क असुलिएको गुनासो बढेपछि सम्झौता अन्त्य गरिएको थियो। कार्यालयले यसअघि पनि सम्बन्धित संस्थालाई अतिरिक्त शुल्क नलिन पटक–पटक मौखिक रूपमा आग्रह गरेको जनाएको थियो।

हाल भने कार्यालयले लाइसेन्स सेवा पुनः सञ्चालन गर्ने तयारी थालेको छ। कार्यालय प्रमुख लामिछानेका अनुसार उग्रतारा ड्राइभिङ सेन्टरसँग पुनः सम्झौता गरी रोकिएको सेवा चाँडै सुचारु गर्ने प्रक्रिया अघि बढाइएको छ।