डडेल्धुराकी भुवनेश्वरी कैनी गंगालाल अस्पतालमा उपचाररत, सहयोगका लागि परिवारको भावुक अपिल
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराकी १३ वर्षीया भुवनेश्वरी कैनी गम्भीर मुटुरोगबाट पीडित भएपछि उनको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ।
दलित परिवारकी भुवनेश्वरी हाल काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत छिन्। चिकित्सकले मुटुको शल्यक्रिया (अप्रेसन) गर्नुपर्ने बताएपछि परिवार आर्थिक संकटमा परेको हो।
दैनिक ज्यालामजदुरी गरेर परिवार चलाउँदै आएका उनका बुबा किशोर कैनीले छोरीको उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा सबैसँग सहयोगको याचना गरेका छन्। आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार खर्च जुटाउन नसकिएको परिवारको भनाइ छ।
परिवारका अनुसार अस्पतालमा परीक्षणपछि छिट्टै शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सुझाव आएको छ। तर अप्रेसन, औषधि, बसोबास तथा अन्य उपचार खर्च जुटाउन कठिन भइरहेको छ।
भुवनेश्वरीको उपचारमा सहयोग गर्न इच्छुक दाताहरूका लागि परिवारले बैंक खातासहित क्यूआर कोड सार्वजनिक गरेको छ। सानो–सानो आर्थिक सहयोगले पनि एक बालिकाको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने परिवारको विश्वास छ।
स्थानीय समाजसेवी तथा शुभेच्छुकहरूले पनि सहयोगी मन भएका सबैलाई सक्दो आर्थिक सहयोग गरी बालिकाको जीवन रक्षा अभियानमा सहभागी हुन आग्रह गरेका छन्।












