डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४, गिल्ला गाउँमाथि अवस्थित ‘खार गुफा’ प्राकृतिक रहस्य, स्थानीय जनविश्वास र अनुपम प्राकृतिक सौन्दर्यको संगमका रूपमा परिचित हुँदै गएको छ। पर्याप्त अध्ययन र पूर्वाधारको अभावका कारण ओझेलमा परेको यो गुफा भविष्यमा डडेल्धुराको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको स्थानीयवासीको विश्वास छ।
सेती नदीको किनारमा फैलिएको सुन्दर फाँटमाथिको डाँडामा रहेको यस गुफालाई स्थानीयले ‘खार गुफा’ नामले चिन्ने गरेका छन्। प्राकृतिक रूपमा बनेको मानिने गुफाभित्र प्रवेश गर्दा ढुंगामा देवी–देवता, विभिन्न जनावर तथा अन्य आकृतिजस्ता प्राकृतिक संरचना देख्न सकिन्छ। प्रकृतिले आफैँ कुँदेजस्तै देखिने यी आकृतिले गुफाको रहस्यलाई अझ रोचक बनाएको छ।
स्थानीय तथा स्वास्थ्यकर्मी गणेश बिष्टका अनुसार केही वर्षअघि यस गुफाभन्दा करिब तीन किलोमिटर माथिको अर्को डाँडामा पनि गुफाको मुख रहेको स्थानीयले देखेका थिए। त्यतिबेला तलको गुफाभित्र आगो बाल्दा माथिल्लो मुखबाट धुवाँ निस्किने गरेको जनविश्वास रहेको उनी बताउछन । समयसँगै पहिरो, ढुंगा खस्ने वा अन्य प्राकृतिक कारणले उक्त मुख पुरिएको हुन सक्ने अनुमान गरिए पनि यसको वैज्ञानिक पुष्टि भने हुन सकेको छैन।
गुफाभित्र देखिने चुनढुंगाका विभिन्न संरचना र आकृतिले यहाँ चुनढुंगाको भण्डार हुन सक्ने सम्भावनासमेत देखिएको स्थानीयको भनाइ छ। तर गुफाको वास्तविक लम्बाइ, यसको भौगोलिक संरचना, निर्माण प्रक्रिया तथा माथिल्लो मुखसँगको सम्बन्धबारे हालसम्म कुनै भूगर्भीय वा पुरातात्त्विक अध्ययन गरिएको छैन। त्यसैले गुफासँग जोडिएका अधिकांश तथ्य स्थानीय जनश्रुति र अनुभवमै सीमित छन्।
नवदुर्गा गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट बोगटीका अनुसार खार गुफामा प्राकृतिक रहस्य, स्थानीय लोककथा र मनोरम दृश्य एकै ठाउँमा पाइने भएकाले यसलाई व्यवस्थित रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ। उनका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८० मा गुफासम्म पुग्ने सडक निर्माणको योजना अघि बढाएको थियो। गाउँबाट करिब एक किलोमिटर माथि रहेको गुफासम्म सडक विस्तारको काम सुरु भए पनि स्थानीय स्तरमा मुद्दा परेपछि योजना अधुरै रहेको छ।
गिल्ला गाउँ डडेल्धुरा–दिपायल जोड्ने डा. के.आई. सिंह राजमार्गअन्तर्गत डडेल्धुरा–डोटी सीमास्थित कोरालखोलाबाट करिब आठ किलोमिटर दूरीमा पर्दछ। कोरालखोलाबाट मम्यागाउँ हुँदै गिल्लासम्म कच्ची ग्रामीण सडक पुगेको छ। तर खोलामा पुल नहुँदा वर्षायाममा सडक अवरुद्ध हुने गरेको उपाध्यक्ष बोगटीले बताइन ।
अध्ययन र संरक्षणको आवश्यकता
भूगर्भीय, पुरातात्त्विक तथा जैविक दृष्टिले विस्तृत अध्ययन हुन सके खार गुफाले डडेल्धुराको पर्यटन क्षेत्रमा नयाँ सम्भावना खोल्न सक्ने देखिन्छ। प्राकृतिक सम्पदाको संरक्षणसँगै पहुँचमार्ग, सूचना केन्द्र, पदमार्ग र आवश्यक पूर्वाधार विकास गर्न सके यो गुफा सुदूरपश्चिमकै आकर्षक प्राकृतिक गन्तव्यका रूपमा स्थापित हुन सक्ने स्थानीयको अपेक्षा छ।
अहिलेसम्म औपचारिक अनुसन्धान हुन नसक्दा खार गुफाको वास्तविक इतिहास र वैज्ञानिक महत्व अझै रहस्यमै सीमित छ। तर प्राकृतिक सौन्दर्य, स्थानीय जनविश्वास र अन्वेषणको सम्भावनाले भरिएको यो गुफाले भविष्यमा अनुसन्धानकर्ता, प्रकृतिप्रेमी तथा पर्यटक सबैलाई आकर्षित गर्ने आधार भने प्रशस्त देखिन्छ।












