डडेल्धुरा । डडेल्धुरामा तीन महिना यता बन्द भएको सवारी चालक अनुमती पत्र (लाईसेन्स) सेवा पुनः सुचारु भएको छ । सेवा सुरुचारु भएसंगै अनलाईबाट फाराम भरेका १५४ जनाले शुक्रबार ट्रायल दिएका छन । करिब तीन वर्ष अघिदेखि डडेल्धुरमा सुरु भएको सवारी चालक अनुमती पत्र (लाईसेन्स)सेवा गत वैशाख पहिलो सातादेखि बन्द भएको थियो । यातायात व्यवस्था कार्यालय संचालनमा आएको निकै लामो समयसंगै स्थानीयको जोडबलले सुरु भएको लाईसेन्स सेवा आफ्नो जमिन र ट्रायल सेन्टर नहुदा बन्द हुन पुगेको थियो । डडेल्धुरामा यो सेवा रोकिदा सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीय कैलाली, कञ्चनपुर जान बाध्य थिए ।
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय डडेल्धुराले नीजि उग्रतारा ड्राइभिङ सेन्टरसँग सम्झौता गरि लाईसेन्स सेवा दिदै आएको थियो । तर गत वैशाख ३ गते बिहिबार एक्कासी उक्त सम्झौता खारेज गरिए पछि यो सेवा बन्द भएको थियो । अहिले फेरी उक्त नीजि उग्रतारा ड्राइभिङ सेन्टरसँग पुनः सम्झौता गरि रोकिएको सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख मिनबहादुर लामिछानेले जानकारी दिए ।
कार्यलय प्रमुख छामिछानेका अनुसार हाल अनलाईन मार्फत फाराम भरी लाईसेन्सका लागि लिखित र ट्रायल दिन सकिन्छ । Edlvrs.sudurpashchim.gov.np.gov.np मा गएर फाराम भर्न सकिने उनले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालय डडेल्धुराले मिति २०७९ असार देखि उक्त ड्राइभिङ सेन्टरसँगको सम्झौता अनुसार ड्राइभिङ सेन्टरको ट्रायल सेन्टर प्रयोग गर्दै सवारी चालक अनुमती पत्र सेवा दिईदै आएको थियो । पुरानै सहमती अनुसार एक वर्षको नयाँ सहमति गरि सेवा सञ्चालन गरिएको उनको भनाई छ ।
कार्यालयले एक पटक ट्रायल परिक्षा संचालन गरे वाफत ड्राइभिङ सेन्टरलाई आठ हजार रुपियाँ शुल्क तिर्ने गरि सम्झौता भएको छ । कार्यालय प्रमुख लामिछानेले भने, परिक्षार्थीको आफ्नै जिप, मोटरसाईल नभए ड्राइभिङ सेन्टरले उपलब्ध गराए जीपको आठ सय रुपियाँ र मोटरसाईकलको चार सय रुपियाँ शुल्क लिने सहमती भएको छ ।
गत वशाख महिनामा यो सेवा रोकिनु अघि महिनामा दुई पटकसम्म ट्रायल र एक पटक लिखित परिक्षा उक्त ट्रायल सेन्टरमा हुदै आएको थियो । २५० भन्दा बढी परिक्षार्थी पुगे पछि ट्रायल र लिखित परिक्षा संचालन गरि लाईसेन्स वितरण गरिदै आएको कार्यालयका प्राबिधिक इञ्जिनियर प्रविनराज भट्टले जानकारी दिए ।












