बाजुरा । बाजुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन्।
मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ धम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रामे थापा र उनकी ५० वर्षीया श्रीमती नाम्सरी थापाले जंगली च्याउ खाएपछि स्वास्थ्यमा समस्या देखिएको थियो।
दुवैलाई सोमबार राति करिब १०ः२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०ः४० बजे रामे थापालाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार नाम्सरी थापाको अवस्था गम्भीर रहेकाले अस्पतालमै उपचार भइरहेको छ। मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












