नवदुर्गा गाउँपालिकामा नवजात तथा बाल स्वास्थ्य–पोषण सुधार कार्यक्रम शुभारम्भ

Image

डडेल्धुरा । नवदुर्गा गाउँपालिकामा मातृ, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले मातृ, नवजात, बाल स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम (एमएनसीएच)को पालिका स्तरीय शुभारम्भ गरिएको छ । संयुक्त राज्य अमेरिका, इपीक नेपालको आर्थिक सहयोगमा नवदुर्गाको स्वास्थ्य शाखा तथा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को साझेदारीमा सञ्चालन हुने उक्त कार्यक्रम जिल्लाका सातवटै स्थानीय तहमा कार्यान्वयन गरिने भएको हो ।

नवदुर्गा गाउँपालिका कार्यालय वडा नं. २ मणिलेक स्थित पालिकाको सभाहलमा आयोजित शुभारम्भ कार्यक्रममा पालिका अध्यक्ष, पाँच वटै वडाका वडा अध्यक्षहरु, स्वास्थ्य शाखा र संस्था, विकास साझेदार तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मातृ स्वास्थ्यदेखि नवजात शिशु, पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य तथा पोषण सेवाको पहुँच र गुणस्तर सुधारलाई प्राथमिकतामा राखिने जानकारी कार्यक्रम संयोजक सञ्जय चंदले जानकारी दिए।

यस कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, नवजात शिशुको जीवनरक्षक सेवा सुदृढ गर्ने, बालबालिकामा हुने कुपोषण न्यूनीकरण गर्ने तथा स्वास्थ्य संस्थामा आवश्यक उपकरण र सामग्रीको उपलब्धता बढाउने लक्ष्य लिइएको छ । साथै स्वास्थ्य आपतकालीन अवस्थामासमेत सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धि र खरिद तथा आपूर्ति व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने रुडुक डडेल्धुराका कार्यकारी निर्र्देशक अमर साउदले बताए ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका अध्यक्ष लक्ष्मिप्रसाद अवस्थी प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि पालिका अध्यक्ष अवस्थीले कार्यक्रमले मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन, बालबालिकामा हुने कुपोषण न्यूनीकरण गर्न र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै पालिकाले कार्यक्रमलाई पूर्ण सहयोग गर्ने बताए ।

कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकिय अधिकृत बोहराले मातृ, नवजात तथा बाल स्वास्थ्य क्षेत्रमा अझै चुनौती कायम रहेकाले कार्यक्रम सफल बनाउन पालिकाबाट आवश्यक समन्वय र सहयोग रहने बताए । पालिकाले गर्दै आएका काममा यस कार्यक्रमले थप सहयोग पुगाउने उनको भनाई थियो । उनले मातृ, नवजात तथा बाल स्वास्थ्य र पोषण सुधार कार्यक्रमले पालिकाको समग्र स्वास्थ्य सूचकमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सबै सरोकारवालाको सक्रिय सहकार्य आवश्यक रहेको बताए ।