फेरीको पर्खाइमा बाजुराका स्याउ किसान

Image

बाजुरा । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका स्याउ किसान यतिबेला फेरी सञ्चालनको पर्खाइमा छन् । बारीमा लटरम्म स्याउ पाक्ने समय सुरु भए पनि कर्णाली नदीमा फेरी नचल्दा उत्पादन बजारसम्म पुर्‍याउन किसानलाई समस्या भएको हो ।

कर्णाली नदीपारि रहेको स्वामीकार्तिक खापर गाउँपालिका स्याउ उत्पादनका लागि पछिल्लो समय परिचित बन्दै गएको छ । गाउँपालिकाका अधिकांश गाउँबस्ती सडक सञ्जालसँग जोडिएका छन् । तर, कर्णाली नदीमा सहज आवतजावतका लागि पक्की पुल नहुँदा सडकको पहुँच भए पनि किसानले उत्पादन बजारसम्म पुर्‍याउन सास्ती खेप्दै आएका छन् ।

कर्णाली नदीमा २०७८ जेठदेखि सवारीसाधन आवतजावतका लागि फेरी सञ्चालनमा ल्याइएको थियो । नदीमा पानीको बहाव कम हुने हिउँदमा फेरी सञ्चालन हुने गरे पनि बर्खामा पानीको बहाव बढेपछि फेरी बन्द हुने गरेको छ ।

फेरी बन्द भएपछि स्वामीकार्तिक खापरमा चल्ने सवारीसाधन जगन्नाथ गाउँपालिकाको पिलीचौर बजारमै रोकिने गरेका छन् । त्यसपछि गाउँबाट स्याउ बजारसम्म पुर्‍याउन किसानले खच्चड तथा भरियाको सहारा लिनुपर्ने अवस्था छ ।

स्याउ टिप्ने मुख्य समयमै ढुवानीको समस्या हुँदा किसानलाई उत्पादन बिक्री गर्न कठिन हुने गरेको स्वामीकार्तिक खापर गाउँपालिका–१ का स्थानीय धनबहादुर रावलले बताए ।

उनले भने, “गाउँदेखि बजारसम्म गाडी सुविधा भएको भए स्याउ समयमै बजार पुगेर बिक्री हुन्थ्यो । फेरी बन्द हुँदा फेरि पुरानै तरिकाले खच्चड र भरियामार्फत स्याउ ढुवानी गर्नुपर्ने बाध्यता छ ।”

फेरी बन्द हुने समस्या यस वर्ष मात्रै देखिएको होइन । विगतमा पनि बर्खाको समयमा फेरी सञ्चालन नहुँदा यहाँका किसानले खच्चड तथा भरियामार्फत स्याउ ढुवानी गर्दै आएका थिए ।

कर्णाली नदीमा लामो समयदेखि पक्की पुल निर्माण हुन नसक्दा उत्पादनको बजार पहुँच प्रभावित भएको स्थानीयको भनाइ छ । बुढीनन्दा क्षेत्रका बासिन्दालाई मार्तडी–कोल्टी सडकको अवस्थाले समस्या पार्ने गरेको छ भने स्वामीकार्तिक खापरका स्याउ किसानलाई कर्णाली नदीमा पक्की पुल नहुँदा उत्पादन बजारसम्म पुर्‍याउन समस्या हुने गरेको छ ।

यद्यपि, हिमाली र जगन्नाथ गाउँपालिकामा उत्पादन हुने स्याउ भने कर्णाली करिडोर हुँदै देशका विभिन्न सहरमा पुग्ने गरेको छ । सडक तथा यातायातको सहज पहुँच भएका क्षेत्रका किसानले आफ्नो उत्पादन तुलनात्मक रूपमा सहज ढुवानी गर्न पाएका छन् ।

१५० हेक्टरमा स्याउ खेती

स्वामीकार्तिक खापर गाउँपालिकामा पछिल्लो समय स्याउ खेती विस्तार हुँदै गएको छ । गाउँपालिकाको कृषि शाखाका अनुसार हाल करिब १५० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ ।

कृषि शाखा प्रमुख विनोद शाहीका अनुसार यहाँ वार्षिक करिब दुई लाख किलो स्याउ उत्पादन हुने गरेको छ । उत्पादन बढ्दै गए पनि बजारसम्म सहज ढुवानीको व्यवस्था नहुँदा किसानले अपेक्षित लाभ लिन नसकेको उनको भनाइ छ ।

स्याउ किसानका लागि रिरास परियोजनाले यस वर्ष ६ हजार कार्टुन व्यवस्था गरेको कृषि शाखा प्रमुख शाहीले जानकारी दिए । उत्पादनको प्याकेजिङ र बजार पठाउने तयारी भइरहेका बेला ढुवानीको समस्या भने मुख्य चुनौती बनेको छ ।

पालिकाले किसानलाई उत्पादन बजारसम्म पुर्‍याउन ढुवानी अनुदान उपलब्ध गराउने तयारीसमेत गरेको शाहीले बताए ।

पुल नहुँदा उत्पादनसँगै लगानी जोखिममा

स्याउ खेती विस्तारसँगै किसानको लगानी पनि बढ्दै गएको छ । बारीमा उत्पादन बढे पनि समयमै बजारसम्म पुर्‍याउन नसक्दा स्याउ कुहिने तथा गुणस्तरमा ह्रास आउने जोखिम हुन्छ ।

स्थानीय किसानका अनुसार स्याउ उत्पादनका लागि वर्षभरि मेहनत, मल, औषधि, श्रम र अन्य सामग्रीमा खर्च गर्नुपर्छ । तर, उत्पादन बजारमा लैजाने समयमा यातायात अवरुद्ध हुँदा किसानले लागतअनुसारको मूल्य पाउन सक्दैनन् ।

कर्णाली नदीमा पक्की पुल निर्माण भए स्वामीकार्तिक खापरका साथै आसपासका क्षेत्रका कृषि उत्पादनले समेत सहज बजार पाउने स्थानीयको अपेक्षा छ । पुल बनेपछि बर्खामा समेत सवारीसाधन सञ्चालन हुने र किसानले खेतबारीबाटै उत्पादन बजारसम्म पुर्‍याउन सक्ने अवस्था आउने उनीहरूको विश्वास छ ।

अहिले भने बारीमा स्याउ लटरम्म फलेको छ । किसानको आशा बजारमा राम्रो मूल्य पाउनेमा छ । तर, त्यो आशा पूरा हुनुअघि उनीहरूको ध्यान कर्णाली नदीतर्फ छ—फेरी कहिले चल्छ ?