डडेल्धुरा । सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रमुख यातायात मार्ग शहीद भिमदत्त राजमार्गको डडेल्धुरा खण्डमा गरिएको कालोपत्रे दुई महिना नबित्दै उप्किएको छ । हरेक वर्ष सडक मर्मतका नाममा करोडौँ रुपियाँ खर्च हुँदै आए पनि मर्मत गरिएको सडक लामो समय नटिक्दा यात्रु तथा सवारी चालकले वर्षौदेखि सास्ती खेप्दै आएका छन् ।
डोटी, डडेल्धुराको गैरा–साहुखर्क सडकखण्डमा करिब पाँच करोड रुपियाँको लागतमा उच्चकोटी चन्द्र विकास जेभीले प्रिमिक्स प्रविधिबाट गरेको सडक मर्मत दुई महिना नपुग्दै जीर्ण बनेको हो । सडकको विभिन्न स्थानमा कालोपत्रे उप्किएको, सडक भासिएको र ठूला खाल्डाखुल्डी परेका छन् ।
वर्षातका कारण खाल्डाखुल्डीमा पानी जम्दा सवारी आवागमन थप जोखिमपूर्ण बनेको छ । पहाडी भूभागको घुमाउरो सडकमा पानी जमेको खाल्डा देख्न कठिन हुने भएकाले दुर्घटनाको जोखिमसमेत बढेको चालक बताउँछन् ।
स्थानीय खडक मगरका अनुसार भिमदत्त राजमार्गमा सडक मर्मतको यो अवस्था पहिलो पटक देखिएको होइन । वर्षेनी सडकको कुनै न कुनै खण्डमा मर्मत हुन्छ । मर्मत सम्पन्न भएको केही समयसम्म सडक चिल्लो देखिन्छ । तर वर्षात सुरु भएपछि कालोपत्रे उप्किने, सडक भासिने र खाल्डाखुल्डी पर्ने समस्या दोहोरिने गरेको छ ।
हरेक वर्ष सडक मर्मत हुन्छ, तर दुई–तीन महिनामै फेरि उस्तै खाल्डाखुल्डी देखिन्छन, साहुखर्क क्षेत्रमा नियमित यात्रा गर्ने स्थानीय सागर बिष्टले भने, सडक मर्मतमा राज्यको रकम खर्च भइरहेको छ, तर यात्रुको दुःख भने घटेको छैन ।
भिमदत्त राजमार्ग सुदूरपश्चिमका पहाडी जिल्लाको जीवनरेखाका रूपमा रहेको छ । डडेल्धुरा हुँदै बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी र अछामलगायत जिल्लासम्मको यातायात यसै मार्गसँग जोडिएको छ ।
दैनिक ठूलो सङ्ख्यामा सवारीसाधन सञ्चालन हुने राजमार्गमा सडकको गुणस्तरले हजारौँ यात्रुको सुरक्षा र पहाडी जिल्लाको आर्थिक गतिविधिसँग प्रत्यक्ष सम्बन्ध राख्छ । तर सडकको नियमित मर्मतमा बजेट खर्च हुँदै आए पनि त्यसको टिकाउपनामा प्रश्न उठ्दै आएको छ ।
सडक मर्मत सम्पन्न भएको केही महिनामै फेरि मर्मत गर्नुपर्ने अवस्था आउँदा राज्यले एउटै सडकमा पटकपटक लगानी गर्नुपर्ने अवस्था बनेको छ । यसले सार्वजनिक स्रोतको उपयोग र सडक निर्माणको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
स्थानीयका अनुसार सडकको माथिल्लो सतहमा मात्रै कालोपत्रे थप्ने तर सडक भासिनुको कारण, पानी निकास र आधार संरचनाको समस्या समाधान नगर्ने प्रवृत्तिका कारण सडक लामो समय टिक्न सकेको छैन ।
निर्माणको गुणस्तरमाथि प्रश्न
पछिल्लो पटक करिब पाँच करोड रुपियाँ खर्च गरेर गरिएको सडक मर्मत दुई महिनामै बिग्रिएपछि निर्माणको गुणस्तरमाथि प्रश्न उठेको छ । स्थानीय तथा सवारी चालक दिपक खड्काले निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको आरोप लगाएका छन ।
सडक निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर, प्राविधिक मापदण्डको पालना, सडकको आधार तयार गर्ने काम र पानी निकासको व्यवस्थापनमा पर्याप्त ध्यान नदिँदा कालोपत्रे टिक्न नसकेको हुनसक्ने चालकहरूको भनाइ छ ।
सडक डिभिजन कार्यालय कुलपाते, डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले सडक पुनः मर्मतका लागि निर्माण कम्पनीलाई पत्राचार गरिएको बताए । उनका अनुसार वर्षातका कारण अहिले तत्काल कालोपत्रे गर्न सकिने अवस्था छैन । मौसम अनुकूल भएपछि बिग्रिएको सडक पुनः मर्मत गरिनेछ । बजेट अपार्याप्ताका कारण ठुला हेवि गाडीहरु संचालन हुने हाइवेमा पातलो एक ईन्च बराबरको कालोपत्रे गरिने भएकाले कारण टिकाउ नहुने उनको भनाई छ ।
राजमार्गमा खाल्डाखुल्डी बढ्दै गएपछि यात्राको समय बढ्नुका साथै सवारीसाधनमा क्षति पुग्ने गरेको चालकहरु बताउछन । बिरामी बोकेका एम्बुलेन्स, सार्वजनिक यातायात र दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारीसाधनसमेत सडकको खराब अवस्थाबाट प्रभावित हुने गरेको छ ।
वर्षातमा सडकको अवस्था थप बिग्रिँदा कतिपय ठाउँमा सवारीसाधन सञ्चालनमै समस्या हुने गरेको छ । सडक भासिने र पहिरो जाने जोखिम भएका स्थानमा चालकले थप सावधानी अपनाउनुपर्ने अवस्था छ ।
सडकको खराब अवस्थाले यात्रु मात्रै नभई पहाडी जिल्लाको उत्पादन बजारसम्म पु¥याउने किसान तथा व्यवसायीलाई समेत असर पार्ने गरेको तरकारी व्यवसायी नरेश ऐरको भनाई छ । ढुवानीमा समय र लागत बढ्दा त्यसको असर स्थानीय बजारसम्म पुग्ने गरेको छ ।













