डडेल्धुरा । अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा र सुविधाबारे जानकारी नहुँदा ग्रामीण तथा सीमान्तकृत समुदायका नागरिक सेवा लिनबाटै वञ्चित हुने गरेका छन्। यही समस्या न्यूनीकरण गर्न आलिताल गाउँपालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई डडेल्धुरा अस्पतालका महत्वपूर्ण सेवाबारे प्रत्यक्ष जानकारी दिइएको छ।
आलिताल गाउँपालिकाका वडा नं. १, २, ३ र ८ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाले डडेल्धुरा अस्पतालको अवलोकन भ्रमण गर्दै स्वास्थ्य बीमा, सामाजिक सेवा एकाइ (एसएसयु) र एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) लगायतका सेवाबारे जानकारी लिएका हुन्।
स्वयंसेविकालाई अस्पतालका सेवा र सेवा प्राप्त गर्ने प्रक्रियाबारे व्यवहारिक जानकारी गराएर त्यसलाई गाउँगाउँसम्म पुर्याउने उद्देश्यले अवलोकन भ्रमण आयोजना गरिएको थियो।
अस्पतालमा विभिन्न प्रकारका निःशुल्क तथा सहुलियतपूर्ण सेवा उपलब्ध भए पनि त्यसको प्रक्रिया र पहुँचबारे ग्रामीण क्षेत्रका नागरिकमा पर्याप्त जानकारी नहुँदा सेवा उपयोगमा समस्या हुने गरेको छ। स्वास्थ्य स्वयंसेविका भने गाउँघरका नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूलाई अस्पतालका सेवा र प्रक्रियाबारे जानकारी गराएर समुदायसम्म सूचना पुर्याउने प्रयास गरिएको हो।
अवलोकनका क्रममा डडेल्धुरा अस्पतालका ओसिएमसी, एसएसयु तथा स्वास्थ्य बीमा सेवाका प्रमुख एवं प्रतिनिधिले सम्बन्धित सेवाको प्रकृति, सेवा लिन आवश्यक प्रक्रिया, उपलब्ध सुविधा तथा कार्यप्रणालीबारे जानकारी दिएका थिए। अब स्वयंसेविकाले अस्पतालबाट प्राप्त जानकारीलाई आमा समूह, घरभेट तथा समुदायस्तरीय छलफलमार्फत नागरिकसम्म पुर्याउनेछन्।
जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोग र जिआईजेडको प्राविधिक सहयोगमा बहुउद्देश्यीय विकास समाज (एमपिडिएसआलिताल गाउँपालिकाका वडा नं. १, २, ३ र ८ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाले डडेल्धुरा अस्पतालको अवलोकन भ्रमण गर्दै स्वास्थ्य बीमा, सामाजिक सेवा एकाइ (एसएसयु) र एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) लगायतका सेवाबारे जानकारी लिएका हुन्।
डडेल्धुराले आलिताल गाउँपालिकासँगको सहकार्यमा ‘हेल्थ इक्विटी एन्ड एक्सेस फर लास्ट माइल कम्युनिटी’ परियोजना सञ्चालन गरिरहेको छ। परियोजनाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा हिंसा प्रभावित समुदायलाई लक्षित गर्दै आधारभूत स्वास्थ्य सेवा र सामाजिक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।
परियोजनाका कार्यक्रम संयोजक मुकुन्द चटौतले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न जानकारीको पहुँच पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। उनका अनुसार अस्पतालमा सेवा भएर मात्रै पुग्दैन, सेवाको जानकारी र त्यसलाई प्राप्त गर्ने प्रक्रियासमेत समुदायका नागरिकसम्म पुग्न आवश्यक हुन्छ।
“स्वास्थ्य स्वयंसेविका समुदायसँग प्रत्यक्ष जोडिएका व्यक्ति भएकाले उहाँहरूले प्राप्त गरेको जानकारी घरदैलोसम्म पुर्याउन सक्नुहुन्छ,” चटौतले भने, “यसले विशेषगरी सीमान्तकृत समुदायलाई उपलब्ध स्वास्थ्य सेवा उपयोग गर्न सहज बनाउने अपेक्षा गरेका छौँ।”
गाउँमा पुग्नेछ अस्पतालको सूचना
अवलोकन भ्रमणमा स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य कार्यालय डडेल्धुरा, जिआईजेड, एमपिडिएस तथा आलिताल गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता थियो।
आयोजकका अनुसार भ्रमणको मुख्य उपलब्धि स्वयंसेविकालाई अस्पतालको सेवा प्रणालीसँग प्रत्यक्ष परिचित गराउनु हो। यसबाट स्वयंसेविकाले नागरिकलाई स्वास्थ्य बीमा कसरी प्रयोग गर्ने, सामाजिक सेवा एकाइबाट कसरी सहयोग लिन सकिन्छ र हिंसा प्रभावितले ओसिएमसीबाट कसरी सेवा प्राप्त गर्न सक्छन् भन्नेबारे सही सूचना दिन सक्नेछन्।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै ‘सेवा छ, तर जानकारी छैन’ भन्ने समस्या हटाउन स्वयंसेविकालाई सूचना वाहकका रूपमा परिचालन गर्ने प्रयासले नागरिक र अस्पतालबीचको दूरी घटाउने अपेक्षा गरिएको छ।












