वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

Image
फाईल तस्बिर

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक कटान हुँदा प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ।

यसैगरी, सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खसेपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात ठप्प भएको छ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक तथा मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरोका कारण बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसैगरी, रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरो खसेपछि भालुवाङ–लिवाङ सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

निरन्तरको वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा सडक भासिने क्रम जारी रहेकाले थप सडकखण्डसमेत प्रभावित हुनसक्ने प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले यात्रुअघि सम्बन्धित सडकको अवस्था बुझ्न, जोखिमयुक्त स्थानमा अनावश्यक यात्रा नगर्न तथा सम्भावित बाढी र पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।– रासस