दुर्गम बस्तीमा अझै घरमै सुत्केरीको बाध्यता, संस्थागत सुत्केरी बढे पनि डडेल्धुरामा सुरक्षित मातृत्वको लक्ष्य अझै टाढा

Image

डडेल्धुरा । डडेल्धुरामा संस्थागत सुत्केरी हुने महिलाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको छ । स्वास्थ्य संस्थाको पहुँच विस्तार, ग्रामीण सडक र यातायात सुविधामा भएको सुधार तथा सुरक्षित मातृत्वसम्बन्धी जनचेतना बढ्दै गएपछि स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुने महिलाको संख्या बढेको हो । यद्यपि जिल्लाका दुर्गम तथा ग्रामीण बस्तीमा भने अझै घरमै सुत्केरी हुने क्रम रोकिएको छैन ।

स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांक अनुसार गत आर्थिक वर्षमा जिल्लामा दुई हजार ९५ जना सुत्केरी भएका थिए । तीमध्ये २८ जना महिला घरमै सुत्केरी भएका छन । घरमै सुत्केरी हुने दर घट्दो क्रममा रहे पनि सरकारले लिएको ‘घरमा हुने सुत्केरी शून्य’ बनाउने लक्ष्य अझै पूरा हुन सकेको छैन ।

आर्थिक वर्ष २०७९/८० मा ४२ जना र २०८०/८१ मा ४५ जना महिला घरमै सुत्केरी भएका थिए । पछिल्लो वर्ष यो संख्या घटेर २८ मा झरेको हो । तथ्यांकले सुधारको संकेत गरे पनि स्वास्थ्य संस्थाबाहिर हुने प्रत्येक सुत्केरी सुरक्षित मातृत्वका दृष्टिले चुनौतीपूर्ण रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार सुरक्षित मातृत्व कार्यक्रममार्फत नियमित गर्भजाँच, स्वास्थ्य सचेतना तथा गाउँगाउँमा दक्ष स्वास्थ्यकर्मीसहितका प्रसूतिगृह सञ्चालन गरिए पनि घरमै सुत्केरी हुने क्रम पूर्ण रूपमा रोकिएको छैन । नियमित गर्भजाँच र सुरक्षित सुत्केरीका लागि सचेतना र जागरणका कार्यक्रम सञ्चालन गरिएको छ । प्रसूतिगृह ठाउँ–ठाउँमा सञ्चालनमा छन् तर घरमा सुत्केरी हुने क्रम रोकिएको छैन, उनले भने ।

डडेल्धुराका विभिन्न स्थानीय तहमा प्रसूति सेवा विस्तार हुँदै गएको छ । विगतमा सामान्य स्वास्थ्य उपचारका लागि समेत लामो दूरी तय गर्नुपर्ने कतिपय ग्रामीण बस्तीमा अहिले स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत प्रसूति सेवा उपलब्ध हुन थालेको छ । ग्रामीण सडकको विस्तार र यातायात सुविधामा आएको सुधारले पनि संस्थागत सुत्केरी बढाउन सहयोग गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्ने भौतिक दूरी घट्दै जाँदा गर्भवती महिलालाई प्रसूतिका लागि स्वास्थ्य संस्थामा लैजान पहिलेभन्दा सहज भएको छ ।

तर स्वास्थ्य संस्था र सडक पुगेको मात्र भरमा सबै गर्भवती महिलालाई संस्थागत सुत्केरी गराउन सकिएको छैन । जिल्ला सदरमुकाम तथा पालिका केन्द्रभन्दा टाढाका दुर्गम बस्तीमा घरमै सुत्केरी हुने महिलाको संख्या बढी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कतिपय अवस्थामा स्वास्थ्य संस्था पुग्नुअघि नै सुत्केरी व्यथा लाग्ने र यातायातको साधन जुटाउन समय लाग्ने समस्या पनि हुने गरेको छ । यही कारण कतिपय महिलाले घरमा मात्र नभई स्वास्थ्य संस्था पुग्ने क्रममा बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था आउने गरेको छ ।

प्रसूतिको समय नजिकिँदै गर्दा स्वास्थ्य संस्था पुग्ने योजना, यातायातको व्यवस्था र आवश्यक सामग्रीको तयारी पहिले नै गर्नुपर्ने उनको भनाई छ ।

डडेल्धुरामा ग्रामीण सडक विस्तारसँगै स्वास्थ्य सेवाको पहुँच पनि विस्तार भइरहेको छ । तर वर्षायाममा सडक अवरुद्ध हुने, रातको समयमा सवारी साधन नपाइने र दुर्गम बस्तीबाट स्वास्थ्य संस्था पुग्न लामो समय लाग्ने समस्या अझै छ । त्यसैले दुर्गम क्षेत्रमा संस्थागत सुत्केरी बढाउन प्रसूतिगृह स्थापना मात्र पर्याप्त नहुने देखिन्छ । स्वास्थ्य संस्था सञ्चालनमा रहे–नरहेको, दक्ष स्वास्थ्यकर्मी उपलब्ध भए–नभएको, आवश्यक औषधि तथा उपकरणको अवस्था र आकस्मिक अवस्थामा बिरामीलाई तत्काल रेफर गर्न सकिने व्यवस्था पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

डडेल्धुरामा संस्थागत सुत्केरीको दर बढ्दै जानु सकारात्मक उपलब्धि हो । तर घरमै हुने सुत्केरीलाई शून्यमा झार्ने लक्ष्य अझै पूरा हुन बाँकी छ । यसका लागि दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै आकस्मिक यातायातको भरपर्दाे व्यवस्था, नियमित गर्भजाँच, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, प्रसूतिगृहको प्रभावकारी सञ्चालन तथा परिवार र समुदायको निरन्तर सहयोग आवश्यक रहेको स्वास्थ्य कार्यालय प्रमुख केशर साउदले बताए ।

उनका अनुसार घरमै सुत्केरी हुने संख्या घटिरहेको भए पनि पूर्ण रूपमा रोकिएको छैन । अबको चुनौती बाँकी रहेका ती महिलालाई पनि स्वास्थ्य संस्थासम्म पु¥याउनु हो ।