पोखरा । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यलाई थप सक्षम बनाउने उद्देश्यले ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ शुभारम्भ गरिएको छ। गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयसँगको साझेदारीमा लभिङ हेल्थको आर्थिक सहयोग तथा बहुउद्देश्यीय विकास समाज (एmपीडीएस)को नेतृत्व तथा कार्यान्वयनमा सञ्चालन हुने कार्यक्रमको औपचारिक सुरुआतका लागि मंगलबार पोखरामा प्रारम्भिक बैठक आयोजना गरिएको हो।
बैठकको अध्यक्षता गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. युवानिधि बसौलाले गरेका थिए भने स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रमेशकुमार केसी, जनस्वास्थ्य प्रशासक सुरज गुरौ, मन्त्रालयअन्तर्गतका विभिन्न शाखा तथा केन्द्रका प्रमुख, गण्डकी प्रदेशका १४ वटा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा मेट्रोन र स्थानीय तहअन्तर्गतका दुई अस्पतालका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रमले अस्पतालमा बिरामी, सुत्केरी तथा नवजात शिशुसँग बस्ने परिवारका सदस्य तथा कुरुवालाई केवल सहयोगीका रूपमा नभई स्वास्थ्य हेरचाहका सक्षम साझेदारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
यसअन्तर्गत स्वास्थ्यकर्मीमार्फत परिवारका सदस्य तथा कुरुवालाई बिरामीको अवस्था बुझ्ने, औषधि तथा उपचारसम्बन्धी निर्देशन पालना गर्ने, पोषण, सरसफाइ, संक्रमण रोकथाम तथा मानसिक र भावनात्मक सहयोगलगायत घरमै आवश्यक पर्ने आधारभूत स्वास्थ्य हेरचाहसम्बन्धी ज्ञान र सीप प्रदान गरिनेछ।
विशेषगरी मातृ तथा शिशु स्वास्थ्य, क्षयरोग तथा नसर्ने रोगलगायतका क्षेत्रमा परिवारको सक्रिय सहभागितालाई संस्थागत गर्ने कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ।
बिरामी अस्पतालबाट डिस्चार्ज भएपछि घरमा उचित हेरचाहको अभावमा स्वास्थ्य अवस्था जटिल बन्ने तथा पुनः अस्पताल आउनुपर्ने अवस्थालाई कम गर्न परिवारलाई आवश्यक ज्ञान र सीप प्रदान गर्नु कार्यक्रमको महत्वपूर्ण पक्ष हो।
कार्यक्रमले स्वास्थ्यकर्मी, बिरामी र परिवारबीच प्रभावकारी संवाद तथा सहकार्यलाई बलियो बनाउँदै अस्पतालमा सिकेको स्वास्थ्यसम्बन्धी ज्ञानलाई घरसम्म पुर्याउने अवधारणामा जोड दिएको छ।
यसका लागि प्रत्यक्ष स्वास्थ्य शिक्षा तथा डिजिटल माध्यमबाट परिवारसँग निरन्तर सम्पर्क र स्वास्थ्य सन्देश प्रवाह गर्ने व्यवस्था गरिनेछ। परिवारका सदस्यलाई व्यवहारिक स्वास्थ्य ज्ञान तथा सीप प्रदान गर्नुका साथै डिजिटल माध्यमबाट आवश्यक स्वास्थ्य जानकारी र फलोअप सहयोग उपलब्ध गराउने अभ्यासलाई प्रदेशको स्वास्थ्य प्रणालीसँग समन्वय गरी अघि बढाइने जनाइएको छ।
प्रारम्भिक बैठकमा कार्यक्रमको उद्देश्य, कार्यान्वयन ढाँचा, स्वास्थ्य संस्थाको भूमिका, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, परिवार तथा कुरुवाको सहभागिता र अनुगमन तथा समन्वयका विषयमा छलफल भएको थियो।
कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन स्वास्थ्य मन्त्रालय, स्वास्थ्य संस्था, स्थानीय तह तथा कार्यान्वयन साझेदारबीच स्पष्ट समन्वय र जिम्मेवारी निर्धारण आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
बैठकमा सहयोगी संस्थाका प्रतिनिधिले विभिन्न स्थानमा परिवारलाई स्वास्थ्य सेवाको अभिन्न साझेदार बनाउँदै गरिएका अभ्यासबारे जानकारी दिँदै अस्पतालमा उपचार प्राप्त गर्नु मात्र पर्याप्त नभई बिरामीको स्वास्थ्य सुधार र निरन्तर हेरचाहका लागि परिवारको ज्ञान, सीप र सहभागिता महत्वपूर्ण हुने बताएका थिए।
त्यस्तै, बहुउद्देश्यीय विकास समाजका कार्यकारी निर्देशक प्रेमबहादुर माहरले संस्थाले नेपालका विभिन्न क्षेत्रमा स्वास्थ्य, समुदाय विकास तथा साझेदारीमा आधारित कार्यक्रम कार्यान्वयन गर्दै आएको अनुभवबारे जानकारी दिए। उनले गण्डकी प्रदेश सरकार तथा स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संस्थाले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए।
स्वास्थ्य मन्त्रालयको प्राथमिकता
स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले स्वास्थ्य सेवा प्रणालीलाई थप जनमुखी, गुणस्तरीय र परिवारमैत्री बनाउन परिवार स्वास्थ्य हेरचाह कार्यक्रम महत्वपूर्ण हुने बताए।
उनले बिरामीको उपचारसँगै परिवारलाई सही स्वास्थ्य ज्ञान र हेरचाहका सीप उपलब्ध गराउन सके उपचारको प्रभावकारिता बढ्नुका साथै स्वास्थ्य सेवामा परिवारको स्वामित्व र सहभागिता पनि बढ्ने धारणा व्यक्त गरे।
प्रदेश सचिव डा.युवानिधि बसौलाले कार्यक्रमलाई प्रदेशको स्वास्थ्य प्रणालीसँग समन्वय गरी संस्थागत रूपमा अघि बढाउन आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालय, अस्पताल तथा स्थानीय तहबीच निरन्तर समन्वय आवश्यक रहेको बताए।
१६ अस्पतालबाट कार्यान्वयनको आधार
गण्डकी प्रदेशका १४ वटा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा मेट्रोन र स्थानीय तहअन्तर्गतका दुई अस्पतालका प्रतिनिधिको सहभागिताले कार्यक्रमलाई अस्पताल तहमा कार्यान्वयन गर्न आधार तयार भएको आयोजकले जनाएको छ।
अब सहभागी स्वास्थ्य संस्थासँगको समन्वयमा आवश्यक स्वास्थ्यकर्मी छनोट, क्षमता अभिवृद्धि, परिवार तथा कुरुवा शिक्षा, डिजिटल नामांकन तथा फलोअप प्रणाली र अनुगमनका गतिविधि क्रमशः अघि बढाइनेछन्।
कार्यक्रमले ‘अस्पतालमा उपचार, घरमा निरन्तर हेरचाह’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै बिरामीको उपचार तथा पुनःस्थापनाको प्रक्रियामा परिवारलाई स्वास्थ्य प्रणालीको महत्वपूर्ण साझेदार बनाउने अपेक्षा गरिएको छ।















