भैँसीको पाडो बचाउदा रङ्गुन खोलामा गयो एक महिलाको ज्यान

Image

डडेल्धुरा । भिधिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका–१२ लालढुङ्गाकी एक महिलाको रङ्गुन खोलाले बगाउदा मृत्यु भएको छ। बुधबार बिहान घरनजिकै रहेको रङ्गुनखोला किनारमा भैँसी चराउन गएकी ४५ वर्षीया डम्मरीदेवी नाथको खोलामा बगेर मृत्यु भएको हो।

भैँसीको पाडो खोलामा पसेपछि त्यसलाई बचाउने क्रममा उनलाई नदीको तीव्र बहावले बगाएको प्रहरीले जनाएको छ। रंगुन खोला क्षेत्र आसपास र चुरे तथा माहाभारत लेकमा भारि वर्षतका कारण खोलाको बाहव निकै बढेको स्थानियले बताएका छन ।

बुधबार बिहान भैँसी चराउन गएकी नाथ घर नफर्किएको र खोला किनारमा उनको चप्पल मात्र भेटिएपछि स्थानीयले खोलाले बगाएको शङ्का गरी खोजीकार्य सुरु गरेका थिए।

स्थानीय र परिवारका सदस्यहरूले खोजी गर्दा नभेटिएपछि इलाका प्रहरी कार्यालय जोगबुढा, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। खोजी गर्ने क्रममा उनको शव चप्पल भेटिएको स्थानभन्दा करिब १० किलोमिटर तल बहादुरे भन्ने ठाउँ नजिक फेला परेको थियो।

बिहान करिब १० बजेतिर खालामा बगेकी नाथको शव करिब चार घण्टाको खोजीपछि दिउँसो २ः०० बजेतिर फेला परेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि जोगबुढा अस्पताल लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।