लोप हुँदै गएको ‘चैत’ खेलेर मनाइयो ओल्के बुढेली

Image

डडेल्धुरा ।
“कहाँ उब्जि गैन काली कैलु गाई,
कैलाश उब्जि गैन काली कैलु गाई ।”

डडेल्धुराको अमरगढी नगरपालिका–६ दुमडा गाउँस्थित कालापात्थर देवताको प्राङ्गणमा मंगलबार करिब ६० वर्षीय करवीर भण्डारीले चैत खेलको यो टुक्का गाइरहँदा वरपर भेला भएका स्थानीय वृद्धवृद्धाको अनुहारमा पुरानो संस्कृतिको सम्झना झल्किन्थ्यो।

अजयमेरु गाउँपालिका–१ बैडा गाउँका भण्डारीले गाएको यो चैत डोटेली लोकसंस्कृतिको मौलिक प्रस्तुति हो। प्रश्न–उत्तर शैलीमा गाइने चैतमा गीतको एक अन्तरालाई पहिलोपटक आधा र दोस्रोपटक पूरा गाउने परम्परा छ।

“ए… कहाँ उब्जि गैन काली कैलु… हाँ…ई… कहाँ उब्जि गैन काली कैलु गाई ?”

भण्डारीले ठाडो स्वरमा प्रश्न गरेपछि जवाफ आउँछ—

“ए… कैलाश उब्जि गैन काली कैलु… हाँ…ई… कैलाश उब्जि गैन काली कैलु गाई ।”

यसको अर्थ ‘काली कैलु गाई कहाँ उत्पत्ति भयो ?’ भन्ने प्रश्नको उत्तर ‘कैलाशमा उत्पत्ति भयो’ भन्ने हुन्छ।

डोटेली समाजमा चैत, धुमारी, हुड्केली र फागजस्ता लोकसंस्कृतिमा प्रकृति, देवीदेवता, राजा–महाराजा तथा समाजमा प्रभाव जमाएका वीर तथा शक्तिशाली पात्रका कथा गीतमार्फत प्रस्तुत गर्ने परम्परा रहेको भण्डारी बताउछन। चैतमा लोकबाजा ढोल र रुईसिङसमेत बजाउने गरिन्छ।

ओल्केमा जीवित राखिँदै पुरानो संस्कृति

सुदूरपश्चिमका धेरै मौलिक लोकसंस्कृति आधुनिक मनोरञ्जनका माध्यम र बदलिँदो सामाजिक जीवनशैलीका कारण क्रमशः हराउँदै गएका छन्। चैत, धुमारी, हुड्केली र पुराना लोकनृत्यको मौलिक स्वरूप अहिले नयाँ पुस्तामा विरलै देखिन्छ। तर ओल्के पर्वका अवसरमा गाउँघरमा आयोजना हुने बुढेलीमा भने यी संस्कृति अझै केही हदसम्म देख्न र सुन्न पाइन्छ।

भदौ १ गते सुदूरपश्चिममा मनाइने ओल्के पर्वमा आफूभन्दा ठूलाबडालाई पिँडालुको पात, निगालाका सिन्का तथा अन्य सामग्री सम्मानस्वरूप दिने चलन छ। यसलाई ‘ओल्को’ भनिन्छ। ओल्के पर्वसँगै गाउँघरमा आपसी सद्भाव, भेटघाट र सांस्कृतिक गतिविधि बढ्ने गर्छ।

ओल्के पर्वसँग जोडिएको अर्को महत्वपूर्ण परम्परा ‘बुढी पोल्ने’ हो। गाउँको निश्चित स्थानमा सल्लाको लिङ्गो गाडेर त्यसमा रुखका हाँगाबिँगा, काँडाझारलगायतका सामग्री थुपारेर ‘बन्ढुनी’ बार्ने चलन रहँदै आएको छ। असत्य र दुष्ट शक्तिमाथि सत्यको विजयको प्रतीकका रूपमा यसलाई लिने गरिन्छ।

स्थानीय जनविश्वासअनुसार भगवान् श्रीकृष्णलाई विषालु दूध चुसाएर मार्न खोज्ने कुटुना नामकी राक्षसीलाई कृष्णले दूध चुसेरै परास्त गरेको कथासँग पनि बुढी पोल्ने परम्परालाई जोडेर हेर्ने गरिन्छ।

ओल्केपछि सुदूरपश्चिममा गौरा पर्वको रौनकसमेत सुरु हुन्छ। त्यसैले ओल्केलाई यहाँको सामाजिक तथा सांस्कृतिक जीवनमा महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।

‘खेल’ हो, तर खेलकुद होइन

बुढेलीमा चैत, धुमारी, देउडा लगायतका विभिन्न लोककला प्रस्तुत गरिन्छ। डोटेली भाषामा यसलाई ‘खेल’ भनिए पनि यो आधुनिक अर्थको खेलकुद प्रतियोगिता भने होइन। समूहमा गोलबद्ध भएर गीत, संगीत, लय र नृत्यका माध्यमबाट प्रस्तुत गरिने मौलिक लोककला हो।

स्थानीय जानकारका अनुसार पहिले बुढेलीमा चैत र धुमारी रातभरि खेल्ने र गाउने गरिन्थ्यो। अहिले भने समय अभाव र नयाँ पुस्ताको रुचिमा आएको परिवर्तनका कारण यसको अवधि घटेर करिब एक घण्टामा सीमित भएको छ।

“पहिले रातभरि चैत र धुमारी खेलिन्थ्यो। अहिले करिब एक घण्टा मात्रै खेलिन्छ,” भण्डारीले भने, “परम्परा जोगाउनका लागि केही बुढापाकाले अझै यसलाई निरन्तरता दिइरहेका छन।”

चैत र धुमारीमा लय, प्रस्तुति र शारीरिक चाल पनि देउडाभन्दा फरक हुन्छ। देउडामा डेढ पाइला मिलाउँदै छिटो–छिटो घुम्ने गरिए पनि चैतमा तुलनात्मक रूपमा बिस्तारै पाइला मिलाउँदै गीतको लयअनुसार प्रस्तुति दिने गरिन्छ। गीतका टुक्कासमेत एकपटक आधा र अर्को पटक पूरा गाउनुपर्ने भएकाले यसको प्रस्तुति धैर्य, स्मरणशक्ति र अभ्यासमा आधारित हुन्छ।

नयाँ पुस्ताको रुचि घट्दै

डोटेली लोकसंस्कृतिका यी मौलिक विधामा युवा पुस्ताको आकर्षण घट्दै जाँदा यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। आधुनिक संगीत, सामाजिक सञ्जाल, नयाँ पुस्ताको बदलिँदो रुचि तथा पुरानो संस्कृतिलाई नियमित रूपमा सिकाउने र अभ्यास गराउने वातावरणको अभावले चैत र धुमारीजस्ता संस्कृति सीमित व्यक्तिमा खुम्चिँदै गएको स्थानीयको भनाइ छ।

“अहिले औँलामा गन्न सकिने बुढापाकाले मात्रै चैत र धुमारी गाउने तथा खेल्ने गर्नुभएको छ,” भण्डारीले भने, “नयाँ पुस्ताले यसको लय, भाषा र शैली सिक्न चासो नदिए यी संस्कृति हराउने जोखिम छ।”

चैत केवल गीत वा नृत्य मात्र नभई सुदूरपश्चिमको मौखिक इतिहास र सामाजिक स्मृतिको एउटा माध्यमसमेत हो। पुस्तौँदेखि मुखैमुखमा हस्तान्तरण हुँदै आएका कथा, धार्मिक विश्वास, प्रकृति र तत्कालीन समाजको चित्रण यसका गीतमा भेटिन्छ। त्यसैले चैतको संरक्षण गर्नु भनेको एउटा लोकगीत बचाउनु मात्र नभई सुदूरपश्चिमको मौलिक इतिहास, भाषा, सामाजिक स्मृति र सांस्कृतिक पहिचान जोगाउनु पनि हो।

संस्कृति जोगाउने जिम्मेवारी कसको ?

ओल्के बुढेलीका अवसरमा दुमडाको कालापात्थर देवताको प्राङ्गणमा देखिएको चैतले लोप हुँदै गएको सुदूरपश्चिमको एउटा महत्वपूर्ण सांस्कृतिक पक्षलाई फेरि सम्झाएको छ। तर वर्षमा एकपटक हुने यस्ता कार्यक्रमले मात्रै संस्कृति जोगाउन पर्याप्त नहुन सक्छ। स्थानीय तह, विद्यालय, संस्कृति संरक्षणमा सक्रिय संघसंस्था र समुदायले नयाँ पुस्तालाई सहभागी गराएर नियमित प्रशिक्षण र प्रस्तुति गराउने वातावरण बनाउन आवश्यक देखिन्छ।

पुराना पुस्तासँग रहेको ज्ञान र नयाँ पुस्तासँग रहेको प्रविधिलाई जोड्न सकिए चैत, धुमारी, हुड्केली र अन्य मौलिक संस्कृति अभिलेखीकरण गर्न सकिन्छ। यसले हराउँदै गएको डोटेली मौखिक परम्परालाई पुस्तान्तरण गर्न पनि सहयोग पुर्‍याउनेछ।

ओल्केमा केही घण्टा सुनिएको करवीर भण्डारीको चैतको स्वर त्यसैले एउटा सांस्कृतिक प्रस्तुति मात्रै थिएन। त्यो हराउँदै गएको एउटा युगको आवाज थियो—जसले नयाँ पुस्तालाई भनिरहेको थियो, ‘हामीलाई बिर्सियौ भने आफ्नै मौलिक पहिचानको एउटा पाना हराउनेछ।’