जोगबुडाको रंगुन पन्तुराः जीवन रेखा बनेको खोला, वर्षायाममा मृत्युको जोखिम

Image
आठ वर्ष अधि निर्माण गरिएको तटबन्ध फोडेर ठन्नजाला वस्ति पसेको रंगुन पन्तुरा खोला र यही खोला किनारको ठन्नजाला वस्ति । तस्बिरः पुष्कर भण्डारी ।

डडेल्धुरा । गत बुधबार बिहान करिब ९ः०० बजेको समयमा भैँसी चराउन रंगुन खोला किनार पुनुगेकी एक महिलाको खोलाले बगाउदा ज्यान गयो । भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका–१२ की डम्मरी नाथ भैँसी चराउन रंगुन खोला किनार पुगे पछि भैँसीको पाडो खोलामै पुगेको थियो । खोलाले पाडो बगाउने चिन्ताले नाथ खोलामा पुग्दा चिप्लिएर बर्खेभेलमा बगेको स्थानीयले जानकारी दिए ।

घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खोजीमा जुटे पनि करिब साढे चार घण्टापछि बगेको स्थानबाट झन्डै १० किलोमिटर तल वडा नं. ५ स्थित परिगाउँ नजिक बहादुरे भन्ने स्थानमा नाथको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक बरुणबहादुर सिंहले जानकारी दिए । त्यहाबाट महाकाली नदी करिब एक किमिको दुरीमा छ । रंगुन खोला लालडुंगा बजारभन्दा तल सर्गौडामा, कटालको दोभानमा पन्तुरा खोलामा मिसिदै अन्ततः परशुराधाममा पुगि महाकाली नदीमा मिसिन्छ ।

रंगुन खोलामा यो पहिलो मानवीय क्षति भने होइन । वर्षायाममा उर्लिने रंगुनको भेलले वर्षौदेखि स्थानीयको ज्यान जोखिममा पार्दै आएको छ । जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजनामा परशुराम नगरपालिका–६ क्षेत्रमा रंगुन खोलाले विगतमा ४० जनालाई बगाइसकेको उल्लेख छ । जिल्ला व्यवस्थापन पूर्व तयारीको तथ्यांक अनुसार २०७४ सालमा परशुराम नगरपालिका–६ सिमलखेतका १२ वर्षीय धमेन्द्र पुन मगरको पौडी खेल्ने क्रममा रंगुन खोलामा डुबेर मृत्यु भएको थियो ।

त्यस्तै २०८२ भदौमा रंगुन खोलामा बगेर ५४ वर्षीय बुढा मगरको मृत्यु भएको समाचार अभिलेखमा उल्लेख छ । यस्तै २०७४ भदौ ४ गते रातीको समयमा लालढुंगा बजारबाट सरकुडा स्थित आफ्नो घर जाने क्रममा पुन्तुरा खोलाले बगाउँदा परशुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका ४५ वर्षीय वडा सदस्य नरबहादुर धामीको तथ्यांकमा उल्लेख छ । खोलामा बगेका धामीको शव अर्कोदिन बिहान बगेको स्थानबाट करिब एक किलोमिटर तल फेला परेको थियो ।

अहिले डम्मरी नाथको मृत्युले फेरि त्यही पुरानो जोखिमलाई सतहमा ल्याएको छ । रंगुनसंगै पन्तुरा खोलालेसमेत बर्खायाममा स्थानीयको ज्यान लिनुकासाथै उर्वर भूमी बगाउदै आएको छ । भित्री मधेश क्षेत्रको जीवन, कृषि र बस्तीका लागि रंगुन, पन्तुरा खोला महत्वपूर्ण छन । डोटी–डडेल्धुरा सीमाक्षेत्रबाट बग्दै महाकालीमा मिसिने रंगुन खोला करिब ४० किलोमिटर लामो रहेको विपद पूर्व तयारीको अभिलेखमा उल्लेख छ । यसको आसपासमा लामो समयदेखि मानव बस्ती र खेतीपाती हुँदै आएको छ ।

तर वर्षायाम सुरु भएपछि यही नदी स्थानीयका लागि चुनौती बन्ने गर्छ । पानीको सतह बढ्दा नदी तर्नुपर्ने बाध्यता रहेका बस्तीमा जोखिम झनै बढ्छ । पुलको अभावमा विद्यार्थी, किसान तथा सर्वसाधारणले कतिपय स्थानमा पानीको बहाव हेरेर नदी पार गर्नुपर्ने अवस्था रहेको छ ।

आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार विभिन्न वडाका स्थानीयलाई वर्षामा रंगुन तर्न समस्या हुने गरेको छ । कतिपय स्थानमा खोलाको सतह बढेपछि लामो दूरी घुमेर झोलुङ्गे पुलसम्म पुग्नुपर्ने बाध्यता स्थानीयको छ । रंगुनको जोखिम मानिस बगाउनेमा मात्र सीमित छैन । यसको बाढीले विगतमा बस्ती, खेत र घरगोठसमेत उजाड बनाएको उनले बताए ।

परशुराम नगरपालिकाका नगर प्रमुख भरतबडायर जोशीका अनुसार २०६२ सालमा रंगुन खोलामा आएको बाढीले परशुराम नगरपालिका ६, सिमलखेतलगायत क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । त्यस क्रममा ४६ भन्दा बढी परिवार विस्थापित भएका थिए । बाढीले घरजग्गा बगाएपछि कतिपय परिवार वर्षौसम्म अन्यत्र विस्थापित जीवन बिताउन बाध्य भए ।

विपद् पूर्व तयारीसम्बन्धी सरकारी दस्तावेजमा समेत रंगुनको बाढीले विगतमा घर, गोठ, विद्यालय, सामुदायिक भवन, खेतीयोग्य जमिन तथा वन क्षेत्रमा ठूलो क्षति पु¥याएको उल्लेख छ । २०६३ सालको बाढीलाई विशेष ठूलो बाढीका रूपमा उल्लेख गर्दै नदीले ठूलो क्षेत्र कटान गरी बगरमा परिणत गरेको विवरणसमेत अभिलेखमा छ । सिमल खेतका कतिपय परिवारहरु अहिले पनि सामादायीक वनमा आश्रय लिन बाध्य छन ।

२०७० सालमा समेत रंगुन र पन्तुरा खोलामा आएको बाढीले परशुराम नगरपालिका–६ को ठन्नजाला र सिमलखेत क्षेत्रमा क्षति पु¥याएको थियो । त्यस क्रममा घर तथा पशुचौपाया बगाएको विवरण सार्वजनिक भएको थियो । रंगुनको इतिहास केवल विनाशको कथा भने होइन । पछिल्ला वर्षमा नदी नियन्त्रण, तटबन्ध निर्माण र चुरे संरक्षणका प्रयास पनि अघि बढेका छन् ।

२०६२ सालको बाढीपछि विस्थापित भएका परिवारमध्ये धेरैजसो तटबन्ध निर्माण र नदी नियन्त्रणका कामपछि आफ्नो थातथलो फर्किएको विवरण छ । सिमलखेत, परिगाउँ, लालढुंगा, कटान र आमपानीलगायत क्षेत्रमा नदी नियन्त्रणको काम गरिएको थियो । रंगुनमा सडक पुल निर्माणका लागि समेत विभिन्न वर्षमा बजेट विनियोजन भएको सरकारी अभिलेखमा देखिन्छ । तर नदीका विभिन्न जोखिमयुक्त स्थानमा सुरक्षित आवागमनको स्थायी पूर्वाधार निर्माण अझै महत्वपूर्ण आवश्यकता बनेको नगर प्रमुख जोशीले बताए ।