काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ। बाढीपछि विभिन्न स्थानमा गरिएको खोज तथा उद्धारका क्रममा २२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार फेला परेका शवमध्ये ११ जना पुरुष र ९ जना महिला रहेका छन्। थप दुई जनाको शव फेला परे पनि उनीहरूको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको शव फेला परेको छ। त्यस्तै धादिङमा पाँच महिला, दुई पुरुष तथा पहिचान खुल्न नसकेका दुई जनासहित नौ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। चितवनमा एक महिलाको शव फेला परेको छ। यससँगै बाढी प्रभावित क्षेत्रमा फेला परेका शवको संख्या २२ पुगेको हो।
भोटेकोसी बाढीमा परी घाइते भएका ६५ जनाको उद्धार गरिएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार रसुवाबाट ४३, नुवाकोटबाट १९ र धादिङबाट तीन जना घाइतेको उद्धार गरिएको हो। उद्धार गरिएका घाइतेलाई स्थानीय अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थामा पठाएर उपचार भइरहेको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको बताइएको छ।
भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको छ भने नदी आसपासका बस्तीसमेत प्रभावित भएका छन्। बाढीपछि कतिपय क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ। नदीमा आएको अचानक बाढीका कारण तटीय क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।
प्रहरी, सुरक्षा निकाय तथा स्थानीयको सहभागितामा बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। बाढीमा परी अझै केही व्यक्ति बेपत्ता रहेको आशंकामा सम्भावित स्थानमा खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, घाइतेको उपचार, शव पहिचान तथा बेपत्ताको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको छ। प्राकृतिक विपद्का कारण भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।















